ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारीमा तीन बीमा कम्पनी

प्रिमियमबापत ४ अर्ब ९० करोड उठाइँदै

२०७९ चैत, ३  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । तीन जीवन बीमा कम्पनी प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारीमा छन् । आईएमई लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । तीन कम्पनीले आईपीओ निष्कासनमार्फत कुल रू. ८ अर्ब २६ करोड रकम उठाउँदै छन् । जसमा प्रिमियममार्फत रू. ४ अर्ब ९० करोडभन्दा बढी रहेको छ । 

ती कम्पनीले कुल ३ करोड ३६ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न फागुन २८ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता १७६ रुपैयाँ प्रिमियम थप गरी २७६ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोड छ । आईपीओ निष्कासनपछि कम्पनीको पूँजी रू. ४ अर्ब पुग्नेछ भने जगेडा कोषमा प्रिमियमबापत उठेको रू. २ अर्ब ११ करोड २० लाख थपिनेछ । 

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न फागुन १७ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता १५० दशमलव ५५ रुपैयाँ प्रिमियम थप गरेर २५० रुपैयाँ ५५ पैसा दरमा ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २४ करोड रहेको छ । आईपीओ निष्कासनपश्चात् कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब २० करोड पुग्नेछ । प्रिमियमबापत उठेको रू. १ अर्ब ४४ करोड ५२ लाख कम्पनीको जगेडामा थपिनेछ । 

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्न मङ्सिर १३ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता ११२ रुपैयाँ प्रिमियम थप गरेर रू. २१२ का दरमा १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोड रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब पुग्नेछ भने प्रिमियमबापत रू. १ अर्ब ३४ करोड ४० लाख जगेडा कोषमा थपिनेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)