काठमाडौं । बंगलादेशमा महिन्द्रा समूहको एकाई बन्द भएकाे छ । भारतको अग्रणी अटोमोबाइल कम्पनी महिन्द्रा एण्ड महिन्द्राले बंगलादेशबाट आफ्नो व्यवसाय बन्द गर्ने निर्णय गरेपछि उक्त एकाई बन्द भएको हाे ।
महिन्द्रा बंगलादेश प्राइभेट लिमिटेड मार्च ३१, २०२२ सम्म सञ्चालनमा आएको भए पनि आम्दानी शून्य जस्तै थियो । गत आर्थिक वर्ष अर्थात् ३१ मार्च २०२२ सम्म कम्पनीको खुद आम्दानी ३.१८ करोड भारतीय रुपैया मात्रै थियो ।
महिन्द्रा एण्ड महिन्द्राले आफ्नो पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी महिन्द्रा बंगलादेश लिमिटेडलाई खारेज गरेको जनाएको छ ।
महिन्द्रा बंगलादेश प्रालिले १४ मार्च २०२३ मा आफ्ना शेयरधनीहरूको बैठक बोलाएर महिन्द्रा बंगलादेश प्रालिलाई बन्द गर्ने अनुमति दिएको बताएको छ ।
१४ सेप्टेम्बर २०२२ मा बोलाइएको बैठकमा महिन्द्रा बंगलादेशलाई बन्द गर्न र यसको प्रक्रिया पूरा गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसपछि कुनै व्यावसायिक कारोबार सञ्चालन गरिएको छैन ।
महिन्द्राले करिब ४ वर्षअघि महिन्द्रा बंगलादेश प्राइभेट लिमिटेड स्थापना गरेको थियो । महिन्द्रा बंगलादेश सवारी साधनको वितरण, अनुसन्धान र विकास, यात्रु यातायात र उपयोगिता सवारी साधनको विक्री र सेवाका लागि भन्दै स्थापना भएको थियो।
महिन्द्राका शेयरधनीहरूले १४ सेप्टेम्बर २०२२ मा भएको बैठकमा बंगलादेश एकाईलाई समाप्त गर्ने र समाप्ति प्रक्रिया पूरा गर्न लिक्विडेटर नियुक्त गर्ने प्रस्ताव पारित गरेका थिए ।