काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको मतगणना शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षका दुई स्थानमा मतगणना शुरु भएको हो ।
मतगणनापछि आजै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । आज बिहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । आयोगका अनुसार ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।
उपराष्ट्रपति पदका लागि नेकपा (एमाले)की अष्टलक्ष्मी शाक्य (बोहरा), जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव र जनमत पार्टीका ममता झा उम्मेदवार छन् । उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ ।
निर्वाचनमा सङ्घीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम छ ।
राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ । नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ । रासस