ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धितोपत्रको बजारमूल्य १ खर्बभन्दा बढीले घट्यो, यो साता के होला ? 

२०७९ चैत, ४  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । धितोपत्र दोस्रो बजार नेप्से परिसूचक फेरी २ हजार विन्दु मुनि झरेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार २ दशमलव ७० विन्दुमा रहेको नेप्से परिसूचक गत साताको कारोबारमा ६९ दशमलव ३९ अंक घटेर १ हजार ९३३ दशमलव ३१ विन्दुमा झरेको हो ।

फागुन १६ गतेसम्म २ हजार १९ दशमलव ९३ विन्दुमा रहेको नेप्से त्यसपछि २ हजार विन्दु मुनीनै रहेको अवस्थामा अघिल्लो साताको अन्तिम कारोबार दिननै २ हजार विन्दुभन्दा माथि उक्लिएर बन्द भएको थियो । फागुन महीनाको अन्तिम साताको कारोबारमा नेप्से परिसूचक एक कारोबार दिन मात्र बढेको देखिन्छ ।

साताको पहिलो कारोबार दिन २६ दशमलव ८० अंक घटेको नेप्से परिसूचक दोस्रो दिन २४ दशमलव ६८ अंकले घटेको थियो । तेस्रो कारोबार दिन १ दशमलव ८५ अंकले माथि उक्लिएको बजार चौथो दिन १४ दशमलव ४४ अंक र पाँचौ दिन ५ दशमलव ३२ अंकले घटेको हो ।

गत साता सेन्सेटिभ इन्डेक्स पनि अघिल्लो साताभन्दा १४ दशमलव ७२ अंक तल झरेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ३७९ दशमलव ५० रहेको सेन्सेटिभ इन्डेक्स गत साताको अन्तिम कारोबार दिन ३६४ दशमलव ७८ विन्दुमा झरेको हो ।

पछिल्लो समय बजारमा देखिएको उतारचढावलाई लगानीकर्ताले सामान्य रुपमा लिएका छन् । लगानीकर्ता उत्साहित हुने किसिमको गतिविधि नभएकै कारण पछिल्ला दिनको कारोबारमा खरीदको तुलनामा विक्री चाप बढी देखिएको ब्रोकरहरू बताउँछन् । सूचनाका आधारमा कारोबार गर्ने लगानीकर्ता अर्थतन्त्र कमजोर भएका समाचारबाट निरास बनेको अनुमान ब्रोकर व्यवसायीहरूको छ ।

सामाजिक सञ्जालहरूमा समेत बजार सम्बद्ध अनुभवि लगानीकर्ताले निरासाजनक अभिव्यक्ति सार्वजनिक गरिरहँदा त्यसको नकारात्मक असर बजारमा देखिएको जानकारहरूको बुझाइ छ । फागुनको अन्तिम साताको कारोबारलाई भने लगानीकर्तामा पर्ने कर्जा तथा ब्याज भुक्तानीको बाध्यताले पनि असर गरेको अनुमान उनीहरूको छ ।

गत साताको कारोबारमा लगानीकर्ताको सम्पत्ति मूल्य रू. १ खर्ब ७ अर्ब ८९ करोड ८४ लाखले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन रू. २९ खर्ब १ अर्ब ३१ करोड ७२ लाख रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन रू. २७ खर्ब ९३ अर्ब ४१ करोड ८७ लाखमा झरेको हो ।

गत साता कुल कारोबार रकम र कित्ता भने बढेको छ । अघिल्लो साता रू. ४ अर्ब १६ करोड २३ लाख २३ हजार बराबरको १ करोड २४ लाख ५७ हजार ६५१ कित्ता धितोपत्र खरीदविक्री भएकोमा गत साता रू. ६ अर्ब ३० करोड ८९ लाख ५७ हजार बराबरको १ करोड ८५ लाख ७८ हजार ३३५ कित्ता धितोपत्र खरीदविक्री भएको छ । अघिल्लो साता दुई दिन सार्वजनिक विदा परेकाले तीन दिन मात्र बजार खुला भएको थियो । गत साता कारोबार दिन बढी भएकाले पनि कुल कारोबार रकम बढेको हो ।

औसत कारोबार रकम भने रू. १२ करोड ५६ लाखभन्दा बढीले घटेको छ । अघिल्लो साता औसतमा रू. १ अर्ब ३८ करोड ७४ लाखभन्दा बढीको धितोपत्र खरीदविक्री भएकोमा गत साता औसतमा रू. १ अर्र्ब २६ करोड १७ लाखभन्दा बढीको मात्र धितोपत्र खरीदविक्री भएको हो । औषतमा अघिल्लो साताको तुलनामा ४ लाख ३६ हजार ८८३ कित्ता कम धितोपत्र कारोबार भएको छ । अघिल्लो साता औसतमा ४१ लाख ५२ हजार ५५० कित्ता धितोपत्र कारोबार भएकोमा गत साता औसतमा ३७ लाख १५ हजार ६६७ कित्ता धितोपत्र कारोबार भएको  हो ।
गत साता लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाए 
गत साताको कारोबारमा सबै समूहगत परिसूचकहरू अघिल्लो साताको तुलनामा घटेका छन् । नेप्सेको तथ्याङ्क अनुसार लघुवित्त समूहको परिसूचक सर्वाधिक ५ दशमलव ४५ प्रतिशतले घटेको छ । 
पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएका समस्या र त्यससँग सम्बन्धित समाचारबाट आम लगानीकर्ता निरास बनेको देखिन्छ । कुनै समय लगानीकर्ताको मुख्य आकर्षण रहेको लघुवित्त क्षेत्र पछिल्लो समय नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा लगाएको सीमा र लघुवित्त कम्पनीमा बढ्दै गएको निष्क्रिय कर्जाका कारण लगानीकर्ता निरास बनेको जानकारहरू बताउँछन् ।

गत साता लघुवित्तपछि बैंकिङ समूहको ४ दशमलव ६६ प्रतिशतले परिसूचक घटेको छ । त्यस्तै जीवन बीमाको ४ दशमलव शून्य ९ प्रतिशत, विकास बैंक ३ दशमलव शून्य ७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २ दशमलव ७१ प्रतिशत, वित्तको २ दशमलव ६१ प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव ४६ प्रतिशतले घटेको छ । 

त्यसैगरी व्यापारिकको २ दशमलव ३६ प्रतिशत, लगानीको २ दशमलव १९ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव १४ प्रतिशत,म्युचुअल फण्डको २ दशमलव शून्य ४ प्रतिशत, जलविद्युतको १ दशमलव ७३ प्रतिशत र अन्य समूहको सबैभन्दा कम १ दशमलव ३८ प्रतिशतले परिसूचक घटेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)