ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सिक्टाको पानी नियमित नहुँदा किसानले गरेनन् चैते धानखेती

२०७९ चैत, ४  
समाचार
Tvs Raider Image Not Found

बाँके । सिक्टा सिँचाइको पानी नियमित हुन नसक्दा जिल्लाका किसान निराश भएका छन् । सिक्टाको पानीको भरमा चैते धानखेती गर्दै आएका कोहलपुर नगरपालिका–१५, पर्सेनीपुरका किसानले यस वर्ष खेती गरेका छैनन् ।  

घर नजिकैको किरण नालामा सिक्टाको पानी आउन थालेपछि विगतका वर्षमा चैते धानखेती गरे पनि यस वर्ष पानी नियमित हुन नसक्दा खेती नगरिएको स्थानीय कृषक ज्ञानबहादुर नेपालले बताए । लामो समयदेखि कृषि पेसामा आबद्ध नेपालले सिक्टाको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई सिकाइ हुने भन्दै चैते धानको खेती गरेका थिए ।  

‘पानीको भरोसा भएन, कहिलेकाहीं छाड्ने पानीमा भर पर्न सकिएन,’ कृषक नेपालले भने, ‘विगतमा चैते धान लगाउन सकिन्छ भनेर यहाँका किसानलाई जानकारी गराइयो, यस वर्ष नहरमा नियमित पानी नआएपछि धानखेती गर्न सकिएन ।’

सिक्टाको पानी नियमित हुँदा किसानले एकवर्षमै शुरुमा वर्षे धान, त्यसपछि हिउँदमा मसुरो हुँदै चैतमा चैते धानखेती गरी तीन बाली स्याहार्ने गरेका थिए । नहरमा पानी नियमित हुँदा खेती किसानी गर्दै आएका किसान निराश हुन पुगेको कोहलपुर–१५ का वडाअध्यक्ष दीपेन्द्र चौधरीले बताए ।  

सिक्टा सिँचाइ आयोजनाले चैते धान रोपाइँलाई ध्यानमा राखी विगतमा पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत सिञ्चित हुँदै आएको थियो । नहर सञ्चालन कार्यतालिका अनुसार पश्चिमी र पूर्वी मूल नहरमा पानी छाडिएको आयोजनाका सूचना अधिकृत विशाल यादवले बताए ।  

उनका अनुसार कार्यतालिका अनुसार हिउँदे बालीका लागि फागुन १६ गतेदेखि १० दिन पानी छाडिएको छ । मूल नहरमा भत्केको प्यानल बनाउने, सफा गर्ने लगायतको काम भइरहेकाले नियमितरुपमा पानी सञ्चालन हुन सकेको छैन ।   

सिक्टा सिँचाइ आयोजना नेपाल सरकारले आफ्नै स्रोतमा २०६३ माघदेखि निर्माण शुरु गरेको नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । निर्माणाधीन आयोजनाको ४५ दशमलव २५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वी नहरबाट बाँकेका ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्य छ । आयोजनाको मूल नहर सँगसँगै शाखा र उपशाखा नहर निर्माणको काम अझै सकिएको छैन । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)