काठमाडौं । बैंकिङ क्षेत्रका संघसंगठनले पछिल्लो समय केही व्यक्ति तथा समूहले वित्तीय क्षेत्रका कर्मचारीमाथि गरेको सांघातिक आक्रमण, अराजक व्यवहार र उनीहरूप्रति लक्षित धम्कीपूर्ण अभिव्यक्तिको निन्दा गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले शुक्रवार संयुक्त, विज्ञप्ति जारी गरी बिरोध गरेका हुन् । बैंकिङ जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको विज्ञप्तिमा उल्लेख छ । ‘यसरी जबरजस्ती कानुन आफ्नो हातमा लिनेलाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरूलाई अनुरोध गर्छौं’ विज्ञप्तिमा भनिएको छ । यस प्रकारका क्रियाकलाप कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने, सामाजिक सहिष्णुता खलल पुर्याउने, आर्थिक गतिविधिमा समेत नकारात्मक असर पार्ने र अन्तत: अर्थतन्त्र नै धराशयी बनाउने भएको भन्दै उनीहरूले सजग रहन सबैलाई आग्रह गरेका छन् ।