काठमाडौं । नेपाल बायोटेक्नोलोजी एशोसिएशनले शुक्रवारदेखि काठमाडौंमा गरेको बायोटेक्नोलोजी सम्बन्धी चौथो राष्ट्रिय सम्मेलन आज (आइतवार) सकिँदैछ । ‘प्राज्ञिक ज्ञानदेखि उद्यमसम्म’ भन्ने मुख्य विषयवस्तु रहेको सम्मेलनमा प्राज्ञिक–उद्योग सहकार्यको महत्त्व र बायोटेक्नोलोजीमा शैक्षिक अनुसन्धानलाई उद्यमशीलतासँग जोड्ने आवश्यकताका विषयमा छलफल भइरहेको आयोजकले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालय, जैविक प्रविधि केन्द्रीय विभाग र अन्नपूर्ण अनुसन्धान केन्द्र, काठमाडौंसँगको सहकार्यमा गरिएको सम्मेलनमा विश्वविद्यालय अनुदान आयोग, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को सहयोग रहेको आयोजकको भनाइ छ । सम्मेलनमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश, जर्मनी, भारत, इन्डोनेसिया, जापान, मलेसिया, कतार, दक्षिण कोरिया, थाइल्यान्ड र अमेरिकाका करीब २०० सहभागी छन् । सम्मेलनमा विभिन्न विख्यात वैज्ञानिकले कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।