काठमाडौं । विपद् जोखिम न्यूनीकरण सम्बन्धी नीति निर्माण तथा कार्यान्वयनबारेका छलफलमा निजीक्षेत्रलाई मूलधारमा ल्याउने अपेक्षा राखेको ब्याम्बू सिरिजको चौथो श्रृंखला शुक्रवार सम्पन्न भएको छ । जसमा ‘सार्वजनिक सेवाहरूको लचिलोपनको लागि व्यापार निरन्तरता व्यवस्थापन’ विषयमा मुलुकको विगत र वर्तमान स्थितिका साथै समाधानका उपायबारे चर्चा गरिएको थियो । कार्यक्रममा निजी क्षेत्र, मानवीय र विकास सहयोग एजेन्सीका प्रतिनिधि र सरकारी अधिकारीहरूले आफ्नो धारणा राख्ने एवं अनुभव आदान प्रदान गरेका थिए । २०७२ सालको विनाशकारी भूकम्प र कोरोना संकटका बेलामा निजी क्षेत्र त्यसमा पनि साना र मझौला व्यवसाय असहज स्थितिमा आउँदा त्यसको असर आमसर्वसाधारणमा परेको सहभागीहरूले बताए । निजीक्षेत्र देशको महत्त्वपूर्ण खम्बा भएपनि सरकारसँग विपद्का बेलामा समन्वयको अभाव देखिएको कतिपय सहभागीको गुनासो थियो ।
निजीक्षेत्रका प्रतिनिधिहरूले सरकारबाट विपद्पछि व्यवसायलाई पुन: पहिलेकै स्थितिमा ल्याउन पर्याप्त सहयोग हुनुपर्ने अन्यथा बिग्रने व्यावसायिक वातारणको असर सबै क्षेत्रमा पर्ने धारणा राखे । सरकारी अधिकारीहरूले भने निजीक्षेत्रलाई उपेक्षा गर्ने राज्यको ध्येय नभएको र आगामी दिनमा समन्वयलाई थप प्रभावकारी बनाउने बताए । विपत्का बेला सार्वजनिक सेवालाई लचिलो बनाउन अहिलेका धेरै नीति नियमलाई परिवर्तन गर्नुपर्ने र कार्यान्वयनको पाटोमा पनि विशेष सक्रियता देखाउनुपर्ने सहभागीहरूको भनाइ छ । ब्याम्बू सिरिजको पहिलो श्रृंखला ‘परिवर्तन पहल – तर्क र सहयोग’, दोस्रो श्रृंखलामा ‘व्यापार निरन्तरता व्यवस्थापन – यसको महत्त्व’ र तेस्रो श्रृंखलामा ‘महिला व्यवसायीहरूको लचिलोपनको लागि बीसीएम’ विषयमा छलफल भएको थियो ।