काठमाडौं। महिलाहरूका लागि प्रविधिमा पहुँच र डिजिटल साक्षरताका कार्यक्रम एकैपटक सञ्चालन गर्नुपर्ने काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् ।
११३ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर आज राष्ट्रिय सभागृहमा आयोजना गरिएको क्षमता विकास कार्यक्रममा बोल्दै उनले भनिन्, 'प्रविधि प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीका विषय पहुँच सँगै थाहा हुनुपर्छ । धेरै व्यक्तिले सामाजिक सञ्जाल चलाउनुहुन्छ । त्यसमा के गर्नु हुन्छ ? र के गर्नु हुँदैन भन्ने धेरैलाई थाहा छैन । कहिलेकाहीं नजानेर त्यसबाट सिर्जित समस्यामा फस्ने सम्भावना हुन्छ ।'
'सूचना प्राप्त गर्ने अधिकारसँग केही दायित्व जोडिएका छन् । ती दायित्व पूरा गरेपछि मात्र प्रविधिको सदुपयोग हुन्छ । मोबाइलले मान्छेलाई चलाउने होइन, मान्छेले आवश्यक परेका बेला मोबाइल चलाउन सकोस् । सामान्य विषय हो । यहीँबाट सदुपयोगको प्रयास थाल्नुपर्छ,' उनले थपिन्, 'हातमा प्रविधि आइपुगेको छ । प्रयोग गर्ने विधि नजानेर वा गलत प्रयोग गरेर महिलाहरू हिंसा र जोखिममा पर्ने गरेको घटनाले देखाएका छन् ।'
विषयमा स्पष्ट पार्दै सामाजिक विकास विभागका निमित्त प्रमुख गोपालप्रसाद पोखरेलले भने, 'सहरमा यस्तो अवस्था हुनुहुन्न भनेर हामीले साइबर अपराध र कानुनी प्रबन्धमा विषयमा क्षमता विकास कार्यक्रम चलाएका हौं ।'
एक दिवसीय गोष्ठीमा प्रहरी निरीक्षक पशुपति रायले साइबर अपराधका विषयमा र सूचना आयोगका सदस्य कमला ओलीले सूचनाको हकका विषयमा प्रस्तुतीकरण गर्नेछन् । यस्तै डा. राजु अधिकारीले सकारात्मक सोचका विषय प्रस्तुतीकरण गर्ने छन् । कार्यक्रममा प्रस्ताव लेखन तालिमका स्रोत व्यक्ति र सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।