काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसूचक ६ दशमलव ९० अंक घटेर १ हजार ९२६ दशमलव ४० विन्दुमा झरेको छ ।
कारोबारमा आएका ३१ लाख ६३ हजार ३८९ कित्ता शेयर ३० हजार ७७५ पटकमा रू. १ अर्ब ६ करोड बराबरको शेयर कारोबार भएको छ । लगातार तीन दिनमा परिसूचक २६ दशमलव ६६ अंक घटेको छ । लगातार घटिरहेको बजारले लगानीकर्ताको मनोबल पनि घटाएको देखिन्छ । त्यसैले कारण कारोबार रकमसमेत रू. १ अर्बमा झरेको छ ।
लगानीकर्ताले रुचाइएका अर्थमन्त्रीले सरकारबाट बाहिरिएका छन् । अब आउने अर्थमन्त्री कस्तो हुने भन्ने दुविधा पनि रहेको छ । यसले गर्दा पनि लगानीकर्ताहरू पर्ख र हेरेको अवस्थामा रहेका देखिएको छ । सोही कारण बजार घट्दै गएको देखिन्छ ।
बजार लामो समयदेखि घट्दो क्रममा रहेकोले यति बेला कम्पनीहरूको शेयर मूल्य निकै सस्तिएको छ । अब बजारमा बिस्तारै खरीदकर्ता आउने जानकारहरू बताउँछन् ।
बजारप्रति लगानीकर्ताहरू सकारात्मक हुनु जरुरी छ । लगानी गर्नुपूर्व कसैको हल्लाको भरमा नभएर आफूले लगानी गर्न लागेको कम्पनीको आधारभूतलगायत सम्पूणर् प्राविधिक पक्ष राम्रोसँग केलाएर लगानी गर्नुपर्दछ ।
यस दिन कारोबारमा आएका तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएपछि सकारात्मक सर्किट लागेको हो । मानुषी लघुवित्तको शेयर मूल्य रू. ८४७, युनिक नेपाल लघुवित्तको रू. १ हजार ७६४ दशमलव ६० र शुभम पावरको रू. ५६७ दशमलव ६० पुगेको छ ।
आइतवार सानिमा ग्रोथ फण्डको इकाईधनीहरूले सबैभन्दा बढी गुमाएका छन् । फण्डको इकाई मूल्य ८ दशमलव ५६ प्रतिशत घटेर रू. ८ दशमलव ७६ मा झरेको छ । त्यस्तै दोस्रोमा श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ३३ प्रतिशत घटेर रू. १ हजार ३९० मा झरेको छ ।
यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक शेयर खरीदविक्री रू. ६ करोड १० लाख बराबरको भएको छ । कम्पनीको शेयर मूल्य रू. १ हजार ९७५ मा झरेको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्टको रू. ४ करोड ५ लाख बराबर भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक शून्य दशमलव १२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव शून्य ३ प्रतिशत, लगानीको शून्य दशमलव २५ प्रतिशत, हाइड्रोपावरको शून्य दशमलव २७ प्रतिशत र होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव ८७ प्रतिश वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी म्युचुअल फण्ड समूहको १ दशमलव १७ प्रतिशत घटेको छ ।