काठमाडौं । भारतीय अर्बपति व्यापारी गौतम अदानीको व्यापारिक समूह अदानी समूहले करीब साढे ३ खर्ब भारतीय रुपया (भारु)को परियोजनामा काम रोक्का गरेको छ । समूहले अहिले कम्पनीहरूको सञ्चालनलाई बलियो बनाउने अनि अमेरिकी अनुसन्धान कम्पनी हिन्डेनबर्गको प्रतिवेदन सार्वजनिक भएयता लगानीकर्ताहरूको मनमा छाएको चिन्ता सम्बोधन गर्न ३ खर्ब ४९ अर्ब भारु बराबरको परियोजनाका काम अहिलेलाई बन्द गरेको हो ।
अदानी इन्टरप्राइजेज लिमिटेडले सन् २०२१ मा समूहले पूर्ण स्वामित्वको मुन्द्रा पेट्रोचेम पेट्रोलियम लिमिटेडले अदानी पोर्ट्स र गुजरातको कुच जिल्लामा रहेको विशेष आर्थिक क्षेत्रमा कोइला-टू-पीभीसी प्लान्ट खोल्न काम शुरु गरेको थियो । तर, जनवरी २४ मा हिन्डेनबर्गले समूहमाथि शेयरमा चलखेल, वित्तीय अनियमिततालगायत आरोप लगाएर रिपोर्ट सार्वजनिक गरेयता अदानीको व्यापार साम्राज्यले १ खर्ब ४० अर्ब डलर गुमाएको छ ।
यस्तोमा अदानी समूहले नयाँ लगानी बन्दै गरेर भए पनि कमब्याकको योजना बनाएको छ । कमब्याकको योजना समूहको कर्जामाथि लगानीकर्ताको चिन्ता सम्बोधनमा केन्द्रित छ । यसका लागि अदानी समूहले म्याद बाँकी नै रहेको कर्जा चुक्ता गरिरहेको छ । हिन्डेनबर्गले लगाएको सबै आरोपको समूहले खन्डन गर्दै आएको छ । एजेन्सी