ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्याराभान कन्स्ट्रक्सनको मनपरी : केही ठेक्का विक्री, आधा दर्जन पुल अलपत्र

२०७९ चैत, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

जाजरकोट । भेरी करिडोरका आधा दर्जन पुल अलपत्र पारिएको छ । जाजरकोट–डोल्पा सडक खण्डभित्र पर्ने भेरी नदीमा आधा दर्जन पुलहरू ठेकेदार कम्पनी क्याराभान कन्स्ट्रक्सनले अलपत्र पारेको हो । 

सडक विभागको पुल महाशाखाबाट ३६ महिनाभित्र निर्माण गर्ने गरी बोलपत्र गरिएको थियो । ठेक्का लिएको एक वर्ष बित्दासम्म काम नै शुरु गरिएको छैन । नलगाड नगरपालिकाको ताँसुगाड पुल, मैदेखोला, त्रात्रगाड, झुम्रेखोला र नलगाड नदीमा क्याराभानले पुल निर्माण नगरेको हो । 

जाजरकोट डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदिमा पुलसमेत क्याराभान कन्स्ट्रक्सनलले लिएर ठेक्का विक्री गरेको छ । दुई वर्षसम्म ठेक्का होल्ड गरेर क्याराभान कन्स्ट्रक्सनले रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई विक्री गरेको छ । 

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले खोलेको १५ करोडको ठेक्का क्याराभान कन्स्ट्रक्सनले १४ करोड १७ लाखमा रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई विक्री गरेको थियो । सडक डिभिजन, चौरजहारीलाई जिम्मेवारी नदिएर काठमाडौंबाटै खोलिएका यी ठेक्काहरू अहिले वर्षदेखि अलपत्र परेका छन् । 

डिजाइन इस्टिमेट मन्त्रालयमा असोजदेखि थन्किएको छ । क्याराभान कन्स्ट्रक्सनका प्रमुख चन्द्र थकालीमाथि पुल निर्माणमा चासो नदिएको आरोप छ । डिजाइन इस्टिमेट पास गर्न पुल महाशाखालाई ताकेता गर्नुको साटो चुप लागेर बसेको स्थानीयले आरोप लगाएका छन् । 

अहिले भेरी नदीका केही ठाउँमा कम भारवहन क्षमताका बेलिब्रिज पुलहरू निर्माण गरेर यातायातका साधनहरू सञ्चालन भइरहेका छन् । त्यस्तै जाजरकोटको तल्लुबगर, डोल्पाको खदाङ र छलगाडमा समेत पक्की पुलको बोलपत्र भएर वाइपी एमआर जेभी, चितवनले ठेक्का पाएको थियो । 

२६ माघ २०७९ पुल महाशाखामा सम्झौता भइसकेको छ । सडक विभागको पुल महाशाखामा सम्झौता भएर अहिले डिजाइन इस्टिमेटको काम भइरहेको छ ।

यो कामको अनुगमन तथा मूल्यांकनको काम पुल सेक्टर, सुर्खेतले हेर्दै आएको छ । ६ महीनाभित्र डिजाइन गरिसकेर पुलको भौतिकतर्फको काम शुरु गर्नुपर्ने छ । 

त्यस्तै डोल्पाको छलगाडमा समेत पक्की पुल निर्माणका लागि ठेक्का भइसकेको छ । भेरी करिडोरअन्तर्गत जाजरकोटको पासागाडदेखि डोल्पाको मरिमसम्म २३१.५ किलोमिटर लम्बाइ छ । 

भेरी करिडोरको जम्मा लम्बाइ ३१० किलोमिटर  छ । अहिले पासागाड–रिम्ना हुँदै तल्लुबगरसम्म पिचको काम शुरु भएको छ । यो सडकखण्डमा तोकिएको समयमा पुल निर्माणको काम नहुँदा वर्षेनी सास्ती हुँदै आएको छ ।

अहिले एकाध ठाउँमा बेलिब्रिजबाट भेरी नदीमा पुल निर्माण भएपछि कम भारवहन क्षमता भएका ट्रकहरू डोल्पाको सदरमुकाम दुनै पुग्ने गरेका छन् । सडक डिभिजन, चौरजहारीले यस सडकखण्डमा पिचको काम गर्दै आएको छ । 
यति बिल्ड्रसले पिचको ठेक्का लिएको छ । ठूला भारवहन क्षमता भएका सवारीसाधन तथा बसहरू सञ्चालन हुनका लागि यस सडकखण्डमा पक्की पुल निर्माण हुनु जरुरी छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)