श्रीलंका । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकाका लागि २ दशमलव ९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने भएको छ ।
श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिङ्घेले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सोमवार २ अर्ब ९० करोड अमेरिकी डलरको राहत प्याकेज स्वीकृत गर्ने तयारी गरेको बताउँदै देशको 'डलर सङ्कट' अन्त्य भएको बताएका छन् ।
श्रीलंकासँग अत्यावश्यक क्षेत्रको आयातका लागि पर्याप्त विदेशी सञ्चिति हुने बताउँदै उहाँले आईएमएफको प्याकेजले लगानीकर्ताको भावनालाई बढावा दिने र थप विदेशी कोष र लगानीमा देशको पहुँच बढाउने बताए ।
'आईएमएफको प्याकेजमा श्रीलंका सरकारलाई बजेटसम्बन्धी सहयोग समावेश हुनेछ, जुन आईएमएफको कर्जाको नयाँ अंश हो,' उनले भने ।
सन् २०२२ मा दक्षिण एशियाली मुलुक श्रीलंका गम्भीर आर्थिक सङ्कटको चपेटामा परेपछि अन्तरराष्ट्रिय ऋणदातासँग सम्बन्धित वार्ता शुरू गरेको थियो । रासस