कृषिप्रधान मुलुक नेपालमा रासायनिक मलको सधैं अभाव भइरहने गरेको छ र अभावसँगै मल कारखाना खोल्ने विषयले पनि निकै चर्चा पाउने गरेको छ । तर, नेपालमा मल कारखाना खोल्न कति सम्भव छ त्यसको भविष्य कस्तो होला भन्नेबारे ठोस अध्ययन र मन्थनचाहिँ भएको पाइँदैन । यद्यपि २०१६ मै वीरगञ्जको श्रीपुरमा दी फर्टिलाइजर फ्याक्ट्री स्थापना गरिएको थियो, जुन फ्याक्ट्रीलाई २ वर्ष चलेपछि सरकारले राष्ट्रियकरण गरेको थियो । त्यस्तै झापामा २०४५ सालमा लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि स्थापना गरिएको थियो, त्यो पनि बन्द भएको २ दशक नाघिसकेको छ । झापामै एभरेष्ट केमिकल एन्ड फर्टिलाइजर इन्डस्ट्रिज पनि डेढ महीना सञ्चालनमा आएर बन्द भएको थियो । यसको अर्थ नेपालमा मल उत्पादन गर्न सकिन्छ भन्ने हो ।
रासायनिक मल कारखाना खोल्ने भन्नेबित्तिकै नाइट्रोजनमा आधारित मल अर्थात् युरिया मल उत्पादन गर्ने कारखाना खोल्ने भन्ने बुझिन्छ । अहिले मल कारखाना खोल्नेबारेमा बहस भए पनि विगतमा खुलेर बन्द भएका कारखानाका बारेमा खासै चर्चा भएको पाइँदैन । तर, एउटा तथ्य के हो भने जतिबेला नेपालमा मल कारखाना खोलियो त्यतिबेला पर्याप्त बिजुली थिएन । सानै आकारको कारखानाका लागि पनि करीब ८ सय मेगावाट विद्युत् आवश्यक पर्ने र प्राकृतिक ग्यास पनि चाहिने जानकारहरूको भनाइ छ । नाइट्रोजन उत्पादन गर्ने सानो कारखाना स्थापना गर्न पनि १ खर्बभन्दा बढी रकम आवश्यक पर्ने बताइएको छ ।
अहिले मल कारखाना खोल्न फोस्फेट ब्लेन्डिङमा आधारित कारखाना खोल्नु बढी उपयुक्त हुने सरोकारवालाहरूको भनाइ रहेको छ । धेरैजसो बालीका लागि नाइट्रोजन, फोस्फोरस, पोटास, आइरन, बोरन, कपरलगायत मिश्रित तत्त्वको आवश्यकता पर्छ । यी सबैलाई मिलाएर ब्लेन्डेड मल बनाउन उपयुक्त हुने विज्ञहरूको भनाइ रहेको छ । जुन विधिमा भए पनि नेपालमा मल कारखाना स्थापना हुन आवश्यक छ । स्वदेशी उत्पादन हुने हो भने मात्र किसानले चाहिएको बेला मल पाउन सक्छन् । नत्र अहिले जस्तो सधैं मलको हाहाकार भइरहने अवस्थामा सुधार आउन कठिन छ । आयातमा भर पर्दा केही समय मल पाइन सक्ला तर सधैं अवस्था एकैनास हुन्छ भन्न सकिँदैन ।