ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

क्रेडिट स्वीस किन्ने सहमतिपछि १४ %ले घट्यो यूबीएसको शेयर मूल्य, एशिया र यूरोपमा शेयर बजार राताम्मे

२०७९ चैत, ६  
अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found

काठमाडौं । सोमबार स्वीस बहुराष्ट्रिय बैंक यूबीएसको शेयर मूल्य १४ प्रतिशतले घटेको छ । समस्याग्रस्त घरेलु बहुराष्ट्रिय लगानी बैंक क्रेडिट स्वीस किन्ने आकस्मिक सहमति गरेलगत्तै पहिलो दिनको कारोबारमा बैंकको शेयर मूल्यमा पहिरो गएको हो । बैंकिङ संकट चलिरहँदा फेडले ब्याजदर बढाउने क्रमलाई नरोक्ने अनुमान बलियो बन्दा शेयर बजार दबाबमा आएको हो ।

सोही दिन क्रेडिट स्वीसको शेयर मूल्य भने अघिल्लो कारोबार दिनमा बजार बन्द हुँदाको भन्दा ६२ प्रतिशतले घटेको थियो । क्रेडिट स्वीसको शेयरमा पहिरो जाने क्रम रोक्न अनि घरेलु वित्तीय क्षेत्रप्रतिको विश्वास फर्काउन स्वीस अधिकारीहरू र नियामकहरूले सो सम्झौतामा सहजीकरण गरेका थिए ।

अमेरिकामा तीन ओटा बैंक धराशायी बनेपछि विश्वव्यापीरूपमा बैंकिङ क्षेत्रमा समस्या देखिँदा क्रेडिट स्वीस पनि धर्मराउन थालेपछि यसको असर अन्यत्र हुन नदिन  नियामकहरू आत्तिएर मर्जरको योजनामा काम गरेका थिए ।

क्रेडिट स्वीस असफल हुन नदिने गरी ठूलो too big to fail बैंक  हो । विश्वस्तरमा यसका कयौं सहायक बैंकहरू छन् । १६७ वर्ष पुरानो इतिहास बोकेको यो बैंकको वासलातको आकार अमेरिकामा सन् २००८ मा टाट पल्टिएपछि विश्वव्यापी वित्तीय संकट निम्त्याउने लेह्म्यान ब्रदर्शको भन्दा दोब्बर ठूलो छ । मर्जरपछिको बैंक यूरोपको सबैभन्दा ठूलो हुनेछ । यसको कूल लगानी सम्पत्ति ५० खर्ब डलरभन्दा धेरैको हुनेछ ।

स्वीस नियामक फिन्मा र केन्द्रीय बैंकले यूबीएसलाई क्रेडिट स्वीस खरीदमा अर्बौं डलर जमानत दिएर किनाउन लगाएको थियो । 

स्वीस नियामकहरूले यूबीएसले क्रेडिट स्वीस किनेपछि बैंकको शेयर मूल्यमा पहिरो जाने क्रम रोकिने आशा गरेका थिए । तर, मर्जरबारे सहमतिमा पुगेको खबरसँगै यूबीएसको समेत शेयर मूल्य ओरालो लागेपछि सोमवार यसको असर एशिया र यूरोपका बजारमा देखिएको छ ।

बिहान खुल्दैखेरि दुवैतिरका शेयर बजार राताम्मे थिए । हङकङमा हाङशेङ ३ दशमलव ३ प्रतिशतले घटेको थियो । जापानमा निक्केई २२५ परिसूचक १ दशमलव ४ प्रतिशत तल आएको थियो । चीनमा शाङहाई कम्पोजिट इन्डेक्स शून्य दशमलव ५ प्रतिशतले घट्यो । चीनको केन्द्रीय बैंकले शुक्रबार बैंकिङ क्षेत्रमा तरलता प्रवाह बढाउन वाणिज्य बैंकहरूले आफूसँग राख्नुपर्ने सञ्चिति प्रावधान अर्थात् आरआरआर घटाएको थियो । दक्षिण कोरियामा कोस्पी शून्य दशमलव ७ प्रतिशतले घट्दा अष्ट्रेलियामा एसएन्डपी एएसएक्स २०० ले १ दशमलव ४ प्रतिशतको कमी बेहोर्यो ।

भारतीय बेञ्चमार्क सेन्सेक्स १ दशमलव ४ प्रतिशत तल आउँदा न्यूजील्यान्ड र दक्षिण पूर्वी एशियाली बजार पनि राताम्मे थिए । जर्मनी र फ्रान्समा पनि डीएएक्स र क्याक फोर्टी क्रमशः १ दशमलव ३  प्रतिशत र १ दशमलव ४ प्रतिशत तल आएका थिए । बेलायमा फुट्सी पनि १ दशमलव ११ प्रतिशत रातोमा थियो । 

ऊर्जा बजारमा सोमबार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क यूएस क्रुड आयत प्रतिब्यारेल २ डलर ११ सेन्टले घट्दै ६४ डलर ६३ सेन्टमा आएको थियो । शुक्रवार पनि यसको भाउ १ डलर ६१ सेन्टले घटेर बन्द भएको थियो । कच्चा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रडको भाउ पनि सोमबार २ दशमलव २९ डलरले घटेर ७० डलर ६८ सेन्टमा आएको छ । डलरको भाउ शुक्रवार तेलनामा थप ओरालो लागेको छ । एजेन्सीहरू

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)