काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक १ दशमलव १८ प्रतिशत वृद्धि भएर १ हजार ९४९ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८१ प्रतिशत र फ्लोट इन्डेक्स १ दशमलव शून्य ९ प्रतिशत वृद्धि भएको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७४ प्रतिशत वृद्धि भएको छ । बजार बढेसँगै कुल बजार पूँजीकरण पनि वृद्धि भएको छ । आइतवार रू. २७ खर्ब ८३ अर्बभन्दा बढी रहेको कुल बजार पूँजीकरण सोमवार रू. २८ खर्ब १६ अर्बभन्दा बढी कायम भएको हो ।
कारोबारमा आएका २५८ धितोपत्रको ५२ लाख ५५ हजार ८६ कित्ता शेयर २९ हजार २८२ पटकमा रू. १ अर्ब २९ करोड बराबर खरीदविक्री भएको छ । यस दिन युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. १ हजार ९४१ पुगेको छ । त्यस्तै दोस्रोमा न्यादी हाइड्रोपावरको शेयर मूल्य ७ दशमलव ७३ प्रतिशत वृद्धि भएर रू. ३५२ दशमलव ६० पुगेको छ ।
सोमवार सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ५ दशमलव ३६ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ९ सयमा झरेको हो । त्यस्तै दोस्रोमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४ दशमलव ७२ प्रतिशत घटेर रू. ९७० कायम भएको छ ।
यस दिन आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर खरीदविक्री रू. ७ करोड ६३ लाख बराबरको भएको छ । यो कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी समान हैसियतमा मर्जरमा जाने सम्झौता भएकाले सर्वाधिक शेयर खरीदविक्री भएको हो । दोस्रोमा एनआईसी एशिया बैंकको रू. ६ करोड १९ लाख बराबर कारोबार भएको छ ।
सोमवार १३ ओटै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूहको सूचक ३ दशमलव ६४ प्रतिशत वृद्धि भएको छ । विगत ६ कारोबार दिनमा नेप्से परिसूचक एक दिनमात्रै १ दशमलव ८५ अंक बढेको थियो भने बाँकी पाँच दिनमा बजार ७८ अंक घटेको थियो ।
घटेको बजारमा खरीदकर्ता आएसँगै सोमवार बजार बढेको देखिन्छ । बजार बढे पनि कारोबार रकम भने खासै बढेको छैन । बजार बढ्नका लागि परिसूचकसँगै कारोबार रकम पनि बढ्नुपर्ने हुन्छ । आइतवारको तुलनामा सोमवार कारोबार रकममा सामान्य वृद्धि भएको छ । बजार बढ्दा कम पूँजी भएका र केही समय अगाडि आईपीओ निष्कासन गरेका कम्पनीको शेयर मूल्यमा लगानीकर्ताको आकर्षणमा परेको देखिन्छ ।
पछिल्लो समय ब्याजदर घट्दो छ भने विगत लामो समयदेखि घटेको बजारमा कम्पनीहरूको शेयर मूल्य सस्तिएको छ । यस्तो बेलामा बिस्तारै खरीदकर्ता आउने विश्लेषकहरू बताउँछन् ।
केही समयदेखि राजनीतिक अस्थिरता, अर्थतन्त्रका आन्तरिक पक्षहरूलाई देखाउँदै लगानीकर्ताहरू ‘पर्ख र हेर’ को रणनीतिमा लागेपछि लामो समयदेखि बजारमा विक्री चाप परेको हो । अब सरकार पनि पूणर्ता पाउने क्रममा रहेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्रीले पनि संसदबाट विश्वासको मत लिई नयाँ गतिमा अघि बढ्ने तयारी गरिरहेका छन् । यसले गर्दा पनि अब बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । राजनीतिक प्रभाव भने शेयर बजारमा क्षणिक रूपमा मात्रै पर्ने गर्दछ ।
‘पछिल्लो समय बजार निकै घटेको यस समयमा लगानी गर्दा जोखिमभन्दा पनि प्रतिफल बढी हुने देखिन्छ,’ अनुभवी लगानीकर्ता दुर्गा तिवारी भन्छिन्, ‘यो समयमा गरेको दीर्घकालीन लगानीले राम्रो दिन सक्छ ।’ शेयर बजारमा राजनीतिक प्रभाव क्षणिक रूपमा मात्रै पर्ने गर्दछ । यद्यपि शेयर बजार विकास र विस्तारको लागि नीतिगत सुधार चाहिँ आवश्यक हुन्छ ।