काठमाडौं । काठमाडौंको नेवार समुदायले मंगलवार बालबालिकालाई ‘मर: जा’ खुवाएका छन् । हिउँद सकिएर गर्मी मौसम शुरु हुन लाग्दा नेवार समुदायले बालबालिकालाई ‘मर: जा’ खुवाएका हुन् । ‘मर: जा’ खानका मंगलवार काठमाडौंका विभिन्न टोलमा बालबालिका जम्मा भए । र, लाइनबद्ध भएर ‘मर: जा’ खाए ।
‘मल जा’ के हो ?
जानकारहरूका अनुसार ‘मर: जा’मा भात, गेडागुडी, तरकारी, हरियो सागपात, मिठाइ, फलफूल, दही, मसलालगायत पर्छन् । यी खानेकुरा खुवाउनुलाई नेवारी भाषामा ‘मर: जा नकेगु’ भनिन्छ ।
किन खुवाइन्छ ?
‘मर: जा’ हिउँद सकिएर गर्मी मौसम शुरु हुनुअघि खुवाउने गरिन्छ । स–साना बालबालिकाहरूलाई गर्मी मौसममा झाडापखालालगायत रोग नलागोस् भनेर ‘मर: जा’ खुवाउने जनविश्वास छ ।
चिकित्सा विज्ञानका दृष्टिले पनि यी खानेकुरा स्वास्थ्यका लागि आवश्यक मानिन्छन् । चिकित्सकका अनुसार यी खानेकुराले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । बाँकेस्थित कोहलपुर मेडिकल कलेजका चिकित्सक डा. देवेन्द्र आचार्य यी खानेकुरा पोषणयुक्त भएको बताउँछन् । ‘तर, यी खानेकुरा खायो भन्दैमा रोगै नलाग्ने भन्ने हुँदैन,’ उनी भन्छन् ।