चितवन । पूर्वी चितवनको रत्ननगरका व्यवसायीलाई सोमवार करसम्बन्धी जानकारी दिइएको छ । आन्तरिक राजस्व कार्यालय खैरहनी शाखाको सहयोगमा रत्ननगर उद्योग वाणिज्य संघले करसम्बन्धी अन्तरक्रिया गरेको हो । कार्यक्रममा ‘मिसम्याच’ले व्यवसाय सञ्चालनमा पुर्याएको असर, व्यवसायीलाई परेको मर्का र समस्या समाधानका उपायको विषयमा छलफल गरिएकोे संघका कार्यवाहक अध्यक्ष शंकर गिरीले जानकारी दिए ।
मिसम्याचको समस्याले करदाता व्यवसायी र आन्तरिक राजस्व कार्यालयबीचको दूरी बढ्दै गएको भन्दै यसले निम्त्याएका समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उनको भनाइ छ । कार्यक्रममा राजस्व कार्यालयका प्रमुख अर्जुन पन्थीले सहजीकरण गरेका थिए । सो अवसरमा उनले करदाताले आय विवरणको अनुसूची १३ को फारम भर्दा उल्लेख गरेका विषय कारोबार गरेका विषयसँग मेल नखाँदा मिसम्याचको समस्या आउने बताए । आयकर ऐन र आर्थिक ऐनले व्यवस्था गरेअनुसार व्यवसायीले कारोबार नगर्दा राज्यलाई तिर्ने करमा पारदर्शिता हुन नसकेको उनले बताए । मिसम्याचको समस्या आउँदा आम्दानी लुकाएको ठहरिने र त्यसो हुन पुगे शत प्रतिशतसम्म जरीवाना हुने कानुनी व्यवस्था रहेको पन्थीले बताए । कार्यक्रममा संघमा आबद्ध १५० भन्दा बढी व्यवसायीको सहभागिता रहेको थियो ।