काठमाडौं । भारतीय अटो निर्माता कम्पनी मारुती सुजुकी इन्डियाले आफ्ना कयौं सवारी मोडलको मूल्य बढाउने भएको छ । समग्रमा महँगीमा भएको वृद्धिको आंशिक भर्पाइ गर्न अनि नियामक मापदन्ड पूरा गर्न सो कदम चाल्न लागिएको बिहीवार कम्पनीले भनेको छ ।
मूल्य वृद्धि आगामी महीनादेखि लागू हुने भनिए पनि वृद्धि कुन स्तरको हुने भन्ने चाहिँ बताइएको छैन । समग्र महँगीमा भएको वृद्धि अनि नियामक आवश्यकताका कारण कम्पनीको लागत दबाब बढेको एउटा नियामक फाइलिङमा मारुती सुजुकी इन्डियाले भनेको छ ।
आफूले सकेसम्म बढेको लागत आफैंले सोस्ने प्रयास गरेको भएपनि केही लागत भने उपभोक्ताको काँधमा सार्न बाध्य बनेको समेत उक्त फाइलिङमा कम्पनीले बताएको छ । कम्पनीले अप्रिलदेखि अधिकांश मोडलहरुमा मूल्य बढाउने भनेपनि वृद्धिको आकार भने मोडलै पिच्छे फरक पर्ने बताइएको छ ।
भारतमा यस अघि नै होन्डा कार्स, टाटा मोटर्स, हिरो मोटो कर्पलगायत कयौं अटो निर्माताहरुले अप्रिलदेखि लागू हुने गरी मूल्य वृद्धिको घोषणा गरिसकेका छन् ।
अहिले भारतीय अटो उद्योग दोस्रो चरणको बीएसभीआई उत्सर्जन मापदन्ड पूरा हुने गरी सवारी साधन बनाउने तर्फ लागि परेका छन् । अप्रिल १ देखि आउने सवारी साधनमा रियल-टाइम ड्राइभिङ उत्सर्जन स्तरको निगरानी गर्न सक्ने प्रविधिको जडान अनिवार्य गर्न भनिएको छ । यसका कारण पनि कम्पनीहरुको उत्पादन लागत बढेको छ ।
नेपालमा आयात हुने गाडीको ९० प्रतिशत हिस्सा भारतीय बजारमा निर्भर छ । विगत करीब १ वर्षदेखि नेपालको अटो बजार करीब ध्वस्तै भएको अवस्थामा छ । यसैमा भारतीय अटो निर्माताले मूल्य बढाएको खण्डमा नेपालमा पनि गाडीको मूल्य थप बढ्ने छ ।
आर्थिक मन्दीको सामना गरिरहेको बेला गाडी खरीदका लागि महँगो मूल्य हाल्न नेपाली उपभोक्ता तयार हुने देखिदैँन । यस्तो अवस्थामा नेपालको अटो बजारको कमब्याक हुन केही समय लाग्न सक्ने अटो ब्यवसायीहरूले बताएका छन् ।
एजेन्सी