काठमाडौं । बिहीवार अमेरिकी डलरको तुलनामा भारतीय रुपया बलियो बनेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले बुधवार सकिएको नीतिगत बैठकमा २५ आधार बिन्दुले ब्याजदर बढाएको भएपनि भारु भने बलियो बनेको छ ।
ब्याजदर बढाउने क्रममा फेडले मौद्रिक नीति कसिलो पार्नु पर्ने चक्र अन्त्य नजिक आएको संकेत पनि गरेपछि यसको सकारात्मक असर रुपयामा देखिएको हो ।
बिहान मुद्रा बजार खुल्दा खेरी डलर भारु विनिमय दर ८२ रुपया ३७५० पैसा थियो । यो रुपयाको लागि भनेको एक हप्तायताकै बलियो शुरुआत थियो । मंगलवार बजार बन्द हुँदा भारु डलर विनिमय दर ८२ दशमलव ६५५० मा आएको थियो । बुधवार भने सार्वजनिक बिदाका कारण मुद्रा बजार बन्द थियो ।
अमेरिकामा बैंकिङ संकटबीच फेडले भविष्यमा हुन सक्ने ब्याजदर वृद्धिप्रति आफ्नो लवज अलि नम्र पारेको छ । मेको बैठकमा पनि २५ प्रतिशत आधार विन्दुले ब्याजदर बढ्ने सम्भावना पनि छ ।
डलर सूचक सात हप्तायताकै न्यून स्तरमा झरेपछि एशिया लगायत युरोप क्षेत्रका अन्य मुद्राहरु भने बलियो बनेका छन् । बिहीवार नै युरो, चिनयाँ युआन, स्वीस फ्रैङ्क, सिंगापुर डलर, जापानी येन, थाइ भाट, मलेसियन रिंगिट र दक्षिण कोरियन मुद्रा बलियो भएका छन् । शुक्रवार पनि यी मुद्रा थप बलियो हुने संकेत देखिएको छ ।
यो महीनाको शुरुमा भने यो वर्ष फेडले कम्तिमा पनि तीन ओटा ब्याजदर बढाउने आकलन गरिएको थियो । एजेन्सी