‘काम चलाउ सरकारले बजेट ल्याउनु लोकतन्त्रकै उपहास हो,’ बुद्धिजीवी, व्यापारी, उद्योगीहरूसँगको अन्तरक्रियामा सहभागी हुन बुधवार धनगढी पुगेका एमाओवादीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराईले भने, ‘कामचलाउ सरकारले बजेट ल्याएमा हाम्रो पार्टीले त्यसलाई पास हुन नदिने निर्णय गरिसकेको छ ।’ उता बुधवार नै सम्पन्न एमाओवादी पदाधिकारी बैठकले राजनीतिक संकट समाधान नभएमा बजेट ल्याउन सकिने निर्णय गरेको छ । ‘नयाँ सरकार नबन्ने स्थितिमा अर्को विकल्प खोजेर बजेट ल्याउन सकिन्छ,’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने । कामचलाउ सरकारले बजेट ल्याउन मिल्दैन भन्ने कुरा एमाओवादीले दोहोर्याउनुको अर्थ ‘सहमतिमा ल्याए आपत्ति छैन’ भन्ने लगाइँदै छ । एमाओवादी बजेट नआउनुको प्रमुख दोषी आफू हुने देखिएपछि बजेट ल्याउने कुरामा विकल्पसहित सहमति दिने पक्षमा पुगेको हो ।
बजेट ढिलोमा कात्तिकको तेस्रो साताभित्रमा पेश हुनुपर्ने बताउँछन् एमाले नेता भरतमोहन अधिकारी । ‘एमाओवादीले सरकार नबनेको स्थितिमा बजेट ल्याउन विकल्प खुला गर्ने बताएको हुनाले बजेट आउँछ । तर उसले त्यो विकल्प स्पष्ट पार्नु पर्छ,’ उनले भने ।
वर्ष ६ अंक ३७, बिहीवार, ४ कात्तिक, असोज, २०६७