केही समययता बिग्रिएको अर्थतन्त्र सुधार नभएसम्म सर्वसाधारणको दिनचर्या सहज हुनेवाला छैन । जबसम्म सर्वसाधारणको जीवनशैली सहज रूपमा चल्न सक्दैन तबसम्म देशमा अमनचयन हुन कठिन हुन्छ । त्यसैले अर्थतन्त्रको सुधार केवल आर्थिक पक्षसँग मात्र जोडिएको नभई सिंगो मानवीय जीवनसँग पनि सम्बद्ध हुन्छ । अर्थतन्त्रको सुधारले मात्र भौतिक र मानवीय प्रगति हुने भएकाले विश्वका अधिकांश देशले अर्थतन्त्र सुधारका लागि काम गर्ने गर्छन् । तर, नेपालमा भने अझै पनि अर्थतन्त्र सुधार हुने गरी प्राथमिकताका साथ काम गरिएको पाइँदैन । सरकारको नेतृत्व गर्नेहरूको जोड अर्थतन्त्र सुधार गर्ने योजना ल्याउनुभन्दा पनि शासनसत्तामा कसरी टिक्ने भन्नेतिर बढी केन्द्रित हुने गरेको छ, जुन आजपर्यन्त कायमै छ ।
भौगोलिक अवस्थाका कारण नेपालमा धेरैजसो कृषि उपज उत्पादन हुने देखिन्छ । उत्पादित वस्तु स्वदेशमा मात्र नभई विदेश निर्यात गर्ने व्यवस्था मिलाउनुपर्छ । सरकारले कृषिको वास्तविक समस्या यकीन गरी इमानदारीपूर्वक त्यस्ता समस्या समाधान गर्न सहयोग गर्ने हो भने उत्पादन वृद्धि हुनेमा कुनै शंका छैन ।
यसको पछिल्लो उदाहरण चालू आर्थिक वर्ष (आव) को ८ महीनामा वैदेशिक व्यापार २० दशमलव १४ प्रतिशतले घट्नुलाई लिन सकिन्छ । स्वस्थ अर्थतन्त्रका लागि अघिल्लो वर्षको तुलनामा अहिले वैदेशिक व्यापारमा सुधार हुनुपर्ने हो । यति मात्र होइन, चालू आव र अघिल्लो आवको सोही अवधिको तुलना गर्दा निर्यात २९ दशमलव शून्य ७ प्रतिशतले घटेको छ । केही समय पहिला विदेशी मुद्राको सञ्चितिमा परेको दबाबबाट बँच्न सरकारले कडाइ गरेको आयात प्रतिबन्ध र नगद मार्जिनलाई खुकुलो बनाउँदासमेत आयात सोही अवधिको तुलनामा १७ दशमलव ८६ प्रतिशतले घटेको छ । भन्सार विभागको यस्तो पछिल्लो तथ्यांकबाट नेपालको अर्थतन्त्र लयमा फर्किनसकेको पुष्टि हुन्छ । अर्थतन्त्र लयमा नफर्के पनि सरकारले सुधारका उपायतिर पहल गरेको पाइँदैन । विभिन्न तथ्यांकले अर्थतन्त्र सुधारमा थुप्रै काम गर्नुपर्ने देखिए पनि सरकारलाई भने यस्ता तथ्यांकले छोएको छैन । कहिले रासायनिक मलमा दिएको अनुदान कटौती गर्ने र कहिले त्यस्तो निर्णयलाई फिर्ता गर्ने अनि राजस्व संकलनभन्दा खर्च बढी भइरहेको परिप्रेक्ष्यमा आवश्यक नपरेका क्षेत्रमा खर्च बढाउने निर्णय गर्ने सरकारले साँच्चिकै रूपमा अर्थतन्त्र सुधार गर्न के गर्नुपर्ने हो भन्नेबारे भेउ नपाएको देखिन्छ । विज्ञहरूले अर्थतन्त्र सुधारका लागि उत्पादनमा जोड दिनुपर्ने वर्षौंदेखि भन्दै आएका छन् । तर उत्पादन वृद्धि हुनुको साटो घट्दो छ । कृषि उत्पादनकै कुरा गर्ने हो भने सन् ८० को ताका नेपालबाट धानको निर्यात हुन्थ्यो तर अहिले धान आयात गर्नुपर्ने अवस्था छ । कृषिखेतीमा लाग्ने ठूलो संख्याका किसान पलायन भइरहेका छन् । कृषिखेतीको साटो वैदेशिक रोजगारीमा भविष्य देख्ने युवाको संख्या बढ्दो छ । केही वर्षअघिसम्म वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या वार्षिक ५ लाख हाराहारी हुनेगथ्र्यो । तर, ८ महीनामै यो संख्याभन्दा बढी युवायुवती वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिइसकेका छन् । श्रम बजारमा प्रवेश गर्ने ठूलो संख्याका युवा जनशक्ति विदेश पस्नुको अर्थ स्वदेशमा रोजगारी वा उद्यमशीलता गर्ने वातावरण छैन भन्ने हो । त्यसैले सरकारले एकातिर विभिन्न निकायले गर्ने अध्ययन, अनुसन्धानबाट प्राप्त निचोड तथा अर्कोतर्फ नेपालमा किन युवाशक्ति बस्न चाहिरहेको छैनन् भन्ने पक्षलाई ख्याल गरी सम्बोधन गर्ने योजना तत्काल अघि सार्नुपर्छ । स्वदेशमा कसैले उद्योग, व्यवसाय गर्न चाहन्छ भने सरकारले उनीहरूका लागि केके सुविधा दिनुपर्ने हो त्यस्ता सुविधा तत्काल दिनुपर्छ । उद्योग, व्यवसाय गर्न जमीन, विद्युत्, सडक, लगानीको अभाव हो भने सरकारले सम्बोधन गर्न सक्नुपर्छ । त्यस्तै कृषिमा लाग्नेहरूले नेपालमा उत्पादन गर्न जति कठिन हुने गरेको छ त्योभन्दा बढी बजारीकरणमा समस्या परेको गुनासो गर्दै आएका छन् । सरकारले उनीहरूका समस्या सुन्नुपर्छ । भौगोलिक अवस्थाका कारण नेपालमा धेरैजसो कृषि उपज उत्पादन हुने देखिन्छ । उत्पादित वस्तु स्वदेशमा मात्र नभई विदेश निर्यात गर्ने व्यवस्था मिलाउनुपर्छ । यसका लागि सरकारले कृषिको वास्तविक समस्या यकीन गरी इमानदारीपूर्वक त्यस्ता समस्या समाधान गर्न सहयोग गर्ने हो भने उत्पादन वृद्धि हुनेमा कुनै शंका छैन । उत्पादन वृद्धिले मात्र निर्यात भई वैदेशिक व्यापार बढ्छ भन्ने कुरा बुझ्न ढिलाइ गर्न हुँदैन ।