सुरुंगा (झापा) । कोशी प्रदेशका व्यवसायीले गरिखान सक्ने वातावरण सृजना गर्न सरकारसमक्ष माग गरेका छन् । झापाको बिर्तामोडमा बिहीवार शुरू भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौं साधारणसभा उद्घाटन सत्रका वक्ताहरूले राज्यलाई खर्बौं कर तिर्ने व्यवसायी अहिले सडकमा आउँदा राज्य मौन बसेको गुनासो गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले राज्यले अब पनि व्यवसायीलाई नहेर्ने हो भने सडकमा उत्रनुको विकल्प नरहेको बताए । उनले भने, ‘कोरोना कहरका कारण सुस्ताएको व्यवसाय अहिले आर्थिक मन्दीका कारण झन् धराशयी बनेको छ । यस्तो अवस्थामा राज्य आफै अभिभावक बनेर व्यवसायीको हितमा लाग्नुपर्नेमा व्यवसायी राज्यविहीनताको अवस्थामा पुग्नु दुखद छ ।’ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष टीकाराज ढकालले आठ प्रतिशतमा लिएको कर्जाको ब्याज बढेर १६ प्रतिशत पुग्दा पनि सरकार मौन बस्नु गैरजिम्मेवारीपन भएको बताए । महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले बैंक तथा वित्तीय क्षेत्रले ब्याजदर बढाएर व्यवसायीको ढाड सेक्ने काम गरेको आरोप लगाए । उनले भने, ‘व्यापार व्यवसाय घटेर ४० प्रतिशतमा आएको छ तर ब्याजदर दिनानुदिन बढिरहेको छ । रासस