तनहुँ । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजनाको निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणाधीन अवस्थामा रहेका १३९ आयोजनामध्ये दश आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
प्रदेश सरकारको रू. १ करोड ५४ लाखको लागतमा उक्त आयोजनाको निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका इञ्जिनीयर वामदेव पौडेलले जानकारी दिए । आयोजनाबाट ८५८ घरधुरीका करीब ४ हजार २९० जना प्रत्यक्ष रूपमा लाभान्वित हुने उनले बताए । पौडेलका अनुसार अधिकांश आयोजना लिफ्टबाट निर्माण गरिएका छन् भने केही ग्राबिटी प्रणालीका छन् । आयोजनाको काम अन्तिम चरणमा पुगेकाले लामो दूरीबाट पानी बोकेर खानुपर्ने समस्याको अन्त्य हुनुका साथै करेसाबारीमा सिँचाइ समेत गर्न सकिने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । इञ्जिनीयर वामदेव पौडेलले भानु नगरपालिका–१० स्थित चेककोट खानेपानी आयोजनाको लागि रू. २० लाख बजेट विनियोजन भएपछि निर्माण शुरू गरिएको थियो ।
ऋषिङ गाउँपालिका–३ को भीरकोट खानेपानी आयोजनबाट १६०, ऋषिङ गाउँपालिका–८ को घुर्रा छहरा खानेपानीबाट १६५, व्यास–९ को सतिश्वारा खोपानीबाट १५०, बन्दीपुर–२ को पार्चे खानेपानीबाट ७० घरधुरीका बासिन्दा लाभान्वित हुनेछन् ।
त्यसैगरी भानुको भीमसेन खानेपानीबाट ५५, शुक्लागण्डकी–२ को हलेदी पिपलतारा खानेपानीबाट ५४, भानु–५ को पोखरीथोक कोलागैरी खानेपानीबाट ६५, बन्दीपुर–१ को भूँडाटार खानेपानी आयोजनाबाट ९० र भीमाद नगरपालिका–४ गिजनडाँडा खानेपानी आयोजनाबाट १७ घरपरिवार लाभान्वित हुनेछन् । रासस