ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

केन्द्रीय प्रसारणको बिजुली पुगेपछि स्थानीयमा खुसीयाली

२०७९ चैत, १०  
गण्डकी प्रदेश
Jagdamba Supershine NA

ढोरपाटन । बागलुङको बरेङ गाउँपालिका–१ ओखरेनी र छापगाउँमा पहिलो पटक विसं २०५९ मङ्सिरमा बिजुली बल्यो । बिजुली बलेपछि यहाँको जनजीवन अँध्यारोबाट उज्यालोतर्फ उन्मुख भयो । स्थानीयको मेहनत र तत्कालीन जिल्ला विकास समितिको सहयोगमा निर्माण भएको पालुङखोला लघु जलविद्युत् आयोजनाले २० वर्ष गाउँ उज्यालो बनायो । २० किलोवाट क्षमताको उक्त लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बढ्दो जनसंख्या र खपत बढ्दै जाँदा अपुग भएको थियो । आयोजनाबाट उत्पादित बिजुली बत्ती बाल्ने, ससाना मिल चलाउने र इलोक्ट्रोनिक सामान चार्ज गर्न मात्रै पुग्थ्यो । अहिले पनि उक्त विद्युत् आयोजना सञ्चालनमा छ ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले केन्द्रीय प्रसारण लाइन गाउँमा पुर्‍याएपछि स्थानीयमा खुसीयाली छाएको छ । अब ठूला मेसिनरी सामान सञ्चालन गर्न सक्ने अवस्था भएको छ । पालुङखोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष सकसबहादुर क्षेत्रीले लघु जलविद्युत्ले स्थानीयको जीवनमा ठूलो परिवर्तन ल्याएको सुनाउँदै अब केन्द्रीय प्रसारण लाइन पुगेपछि थप परिवर्तन आउने बताए ।

लघु जलविद्युत् पुरानो हुँदै गएको र बेलाबेलामा सामान्य समस्या आइपर्ने गरेको तर अब भने त्यस्तो समस्या नआउनेमा उनी ढुक्क छन् । अध्यक्ष क्षेत्रीले भने, ‘२० वर्षअघि गाउँमा बिजुली बल्दा धेरै दंग परेका थिएँ, पछिल्लो समय बिजुली खपत बढेको थियो । अब केन्द्रीय प्रसारण लाइन आएपछि पहिलेको तुलनामा थप सहज हुने विश्वास छ ।’

विद्युत् प्राधिकरणले बरेङ गाउँपालिका छापा र ओखरेनीका १५० घरसँगै जैमिनी नगरपालिका–४, ८, ९ र १० वडाका १५० गरी ३०० घरमा केही हप्ता अगाडि मात्रै केन्द्रीय प्रसारण लाइन पुर्‍याएको छ ।

लघु जलविद्युत्को भरमा रहेका स्थानीयलाई केन्द्रीय प्रसारण लाइन पुगेपछि ठूलो राहत हुने प्राधिकरणले जनाएको छ । स्थानीय थमबहादुर थापाले समय–समयमा विद्युत् गृहमा समस्या आउँदा वा नहर पहिरोले बगाउँदा अन्धकारमा बस्न बाध्य भएको स्मरण गरे ।

अब उज्यालोमा बस्न पाउनुका साथै साना तथा मझौला उद्योग सञ्चालन गर्न सकिने उनको भनाइ छ । ‘ दुर्गम गाउँमा बिजुली बाल्न समस्या धेरै हुनेरहेछ, बर्खामा कुलो भत्किने, रुख ढलेर तार छुने हुँदा बिजुली बन्द हुन्छ, हावाहुरी चल्दा पनि बन्द हुन्छ,’ उनले भने, ‘कहिले पावरहाउसमा समस्या आउँदा महीना दिनसम्म पनि अँध्यारोमा बस्यौं, सरकारले अहिले गाउँमा केन्द्रीय प्रसारण लाइन ल्याइएको छ, अब पहिलाको जस्तो महीनौंसम्म अँध्यारोमा बस्न पर्दैन कि ?’ नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले जिल्लाभर केन्द्रीय प्रसारण लाइनलाइन विस्तारलाई तीव्रता दिएको बताए । स्थानीयको समस्या र आवश्यकतालाई हेरेर प्राधिकरणले विद्युत् विस्तार गरिरहेको उनको भनाइ छ ।

मरासेनीले ओखेरी, छापा र जैमिनीका विभिन्न वडामा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बताए । उनका अनुसार जिल्ला सदरमुकामसँग जोेडिएका पालिकाका सबै गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको छ ।

जिल्लाका विभिन्न स्थानमा विद्युत् विस्तारका लागि यस वर्ष प्राधिकरणबाट रू. १ करोड र नेपाल सरकारबाट रू. ९३ लाख विनियोजन भएको थियो । केही महीना अगाडि पश्चिम बागलुङका सबै पालिकामा विद्युतीकरणका लागि रू. १४ करोड ५६ लाख बजेट स्वीकृत भएर ठेक्का प्रक्रियामा गएको उनको भनाइ छ ।

जिल्लाभरि केन्द्रीय प्रसारण लाइन पुर्‍याइँदै     
अगामी दुई वर्षभित्र बागलुङका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन पुग्ने भएको छ । विद्युत् प्राधिकरणले पश्चिम बागलुङका पालिकालाई ‘फोकस’ गरेर काम गरिरहेको प्रमुख मरासेनीको भनाइ छ । उनले ताराखोला गाउँपालिकाको सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको र गलकोटको रमुवामा मात्रै बाँकी रहेको बताए ।

बडीगाडको खार बजार र रमुवाका करीब ३०० सय घरमा विद्युत् जडान शुरू गरिएको उनको भनाइ छ । सदरमुकाम क्षेत्रतर्फ जैमिनीको सर्कुवाबाहेक सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको छ । बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाको सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको सुनाउँदै अब ढोरपाटन, निसीखोला, बडीगाड र तमानखोलामा काम शुरू गर्ने मरासेनीले बताए । जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका २५० घरमा केही महीना अगाडि मात्रै केन्द्रीय प्रसारण लाइन पुगेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)