काठमाडौं । नेपाल–इटाली उद्योग वाणिज्य संघको नवौं वार्षिक साधारणसभा बिहीवार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभामा नेपाल र इटालीबीच बढ्दो व्यापार व्यवसायलाई थप व्यवस्थित गर्नुपर्नेमा व्यवसायीले जोड दिएका छन् । साधारणसभामा संघका कार्यवाहक अध्यक्ष ध्रुवकुमार श्रेष्ठले नेपालको सांस्कृतिक, वस्तु सम्पदा र ऐतिहासिक सम्पदाको पुनर्निर्माणको क्षेत्रमा इटालीको योगदानको प्रशंसा गरेका थिए ।
नेपाल–इटाली उद्योग वाणिज्य क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई साधारणसभामा सम्मान गरिएको थियो, जसमा संघका विशिष्ठ मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, नेपाल र इटालीबीच व्यापार क्षेत्रमा उत्कृष्ट आयातकर्ताका रूपमा विनोद सगतानी, इटालीतर्फ नेपाली वस्तु निर्यातका लागि उत्कृष्ट निर्यातकर्ताको रूपमा राजु श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै इटालीबाट सबैभन्दा बढी पर्यटक भित्र्याउने पिस इन्टरनेशनल टुर एन्ड ट्राभल्सका प्रबन्ध निर्देशक सर्वोत्तमलाल श्रेष्ठ सम्मानित भएका छन् । यस्तै उत्कृष्ट लगानीकर्ताको रूपमा फायर एण्ड आईस पिज्जेरिया समेत सम्मानित भएको छ ।