ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

राष्ट्रिय आविष्कार केन्द्रलाई रू. ६३ लाखबराबरको सहयोग

२०७९ चैत, १०  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार रुपैयाँ बराबरको सहयोग गरेको छ । संघले २०७२ को भूकम्पपछि शुरू गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरीद गरिएका निर्माण उपकरण, औजार, सवारीसाधन, बालुवाटारस्थित एनआरएनए सचिवालयले खरीद गरेका फर्निचर तथा सामग्री केन्द्रलाई प्रदान गरेको हो । उक्त उपकरण एवं सामग्री वीरगञ्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुन:स्थापनामा प्रयोग गरिने बताइएको छ ।

संघकी कार्यकारी अध्यक्ष रविना थापाले मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा केन्द्रले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताइन् । संघले प्रदान गरेका उपकरणले प्रविधि र विज्ञानको क्षेत्रमा केन्द्रलाई मद्दत पुग्ने अपेक्षा उनले गरिन् ।

संघका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीहरूले आविष्कार केन्द्रलाई यथाशक्य सहयोग गर्ने बताए । केन्द्रमार्फत मुलुकमा नवीनतम विकासका लागि साझेदारी गर्न पाउँदा गौरव महसूस भएको उनको भनाइ थियो ।

संघका उपाध्यक्ष आरके शर्माले महावीर पुनले देशमा फर्केर गरिरहेको कामले गैरआवासीय नेपालीलाई प्रेरणा मिलेको बताए । समृद्ध मुलुक निर्माणका लागि संघले केन्द्रसँग सधैं सहकार्य गर्ने उनको भनाइ थियो । संघका प्रवक्ता सोम सापकोटाले कृषि औजार कारखाना सञ्चालनका लागि आविष्कार केन्द्रले लिएको पहलकदमीले नेपालको कृषि क्षेत्रको  विकास तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा केन्द्रका संस्थापक पुनले संघले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघका विभिन्न राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा प्रतिनिधि, आविष्कार केन्द्रका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)