ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

१४ वर्षमा साढे ८ गुणा बढ्यो विषादी आयात

२०७९ चैत, १०  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने विषादी आयात पछिल्लो समय बढ्दै गएको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो १४ वर्षमा नेपालमा आयात हुने विषादीको मात्रा साढे ८ गुणाले बढेको छ । रैथाने बीउको प्रतिस्थापन, विषादी नभई नफस्टाउने बीउको प्रयोग वृद्धि र किसानमा चेतनाको कमीजस्ता कारणले विषादी खपत बढ्दै जाँदा आयात बढेको हो ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा नेपालमा ५ अर्ब १३ करोड १८ लाख रुपैयाँभन्दा बढीको १२ हजार ७ सय ९१ मेट्रिक टन विषादी आयात भएको छ । १४ वर्षअघि आव २०६५/६६ मा देशमा ५३ करोड ८६ लाख रुपैयाँ बराबरको मात्रै विषादी आयात भएको थियो । तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी विषादी निर्यात गर्ने मुलुक भारत हो । आव २०७८/७९ मा नेपालमा आयात भएको विषादीमध्ये ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको भारतबाट आएको छ । उक्त वर्ष आयात भएको विषादीबाट भन्सारले ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

विषादी व्यवसायी संघ नेपालका अध्यक्ष छोटेलालप्रसाद लोहारले पछिल्लो समय मुलुकमा विषादी प्रयोग अत्यधिक मात्रामा बढ्दै गएकाले आयात पनि सोहीअनुरूप बढेको बताए । उनका अनुसार विगतमा किसानले रैथाने बीउको प्रयोग बढी मात्रामा गर्थे, जसले गर्दा वर्षमा १/२ बाली मात्रै खेती हुन्थ्यो । विभिन्न किसिमका उन्नत र वर्णसंकर जातका बीउ प्रयोग बढेसँगै किसानले वर्षमा ३/४ बालीसम्म खेती गर्न थालेका छन् । त्यसमाथि वर्णसंकर जातका बीउ विषादीविना फस्टाउन नसक्ने भएकाले यसको प्रयोग पछिल्ला वर्षहरूमा ह्वात्तै बढेको देखिएको हो ।

‘जलवायु परिवर्तनका कारण बालीनालीमा नयाँनयाँ प्रजातिका कीराले आक्रमण गर्नुका साथै रोगको प्रकोप बढ्दै जानु विषादी प्रयोग वृद्धि हुनुको मुख्य कारण बनेको छ,’ अध्यक्ष लोहारले आर्थिक अभियानसँग भने, ‘यसका अलावा किसानहरूमा विषादी प्रयोगसम्बन्धी चेतनाको कमीले गलत प्रयोग बढ्दा आयातले विकराल रूप लिइरहेको छ ।’

किसानले विषादीको गलत प्रयोग बढाउँदा १५ दिनको फरकमा छर्कनुपर्ने विषादी साता दिनमै छर्कने क्रम बढेको छ । यसले आयात बढाउन योगदान गरेको छ । यद्यपि भारतलगायत अन्य छिमेकी मुलुकको दाँजोमा नेपालमा प्रयोग भइरहेको विषादीको मात्रा कमै रहेको पनि अध्यक्ष लोहार बताउँछन् । नेपालमा प्रतिहेक्टर जमीनमा ३ सय ९६ ग्राम विषादी प्रयोग हुन्छ । भारतमा त्यति नै जमीनमा साढे २ देखि ३ केजी र दक्षिण कोरियामा १० केजीसम्म विषादी प्रयोग भइरहेको उनले जानकारी दिए ।

खाद्यान्नको बढ्दो मागसँगै थोरै जमीनमा धेरै उत्पादन गर्नुपर्ने बाध्यता र वर्णसंकर बीउका कारण विषादी प्रयोगको विकल्प छैन । विषादी प्रयोग कम गर्दै आयात निरुत्साहित गर्न किसान तहमा पुग्ने गरी यसका नकारात्मक असरबारे चेतना बढाउनुपर्ने र अग्र्यानिक खेतीतर्फ उनीहरूलाई आकर्षित गर्नुपर्ने बताइन्छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले नेपालमा खपत हुने विषादीमध्ये ८० प्रतिशत तरकारी खेतीमा प्रयोग हुने बताए । उनका अनुसार करेसाबारीबाट शुरू भएको तरकारी खेती व्यावसायिकतातर्फ अघि बढेसँगै विषादी प्रयोग बढ्न थालेको हो । साथै किसानमा विषादीसम्बन्धी ज्ञान कम हुँदा यसको प्रयोग बढ्दो छ । मुलुक संघीयतामा प्रवेश गरेसँगै केन्द्रसँग स्थानीय र प्रेदशका निकायको समन्वय नहुँदा र स्थानीय स्तरमा दक्ष जनशक्ति अभावमा किसानसम्म विषादीसम्बन्धी चेतना विस्तार हुन सकेको छैन । त्यसले आवश्यकताभन्दा बढी विषादी प्रयोग हुन गई आयात बढेको उनले बताए ।

नेपालका विकट पहाडी जिल्लामा विषादी प्रयोग निकै न्यून मात्रामा छ । नेपालमा खपत भइरहेको विषादीमा सबैभन्दा धेरै अंश तराई र शहरी क्षेत्र वरपरका व्यावसायिक खेती गरिने जिल्लाको छ । सरकारी तथ्यांकअनुसार सर्लाही, काभ्रे, भक्तपुर, मकवानपुर र धादिङ बढी विषादी प्रयोग हुने जिल्ला हुन् । ती जिल्लामा नेपालको राष्ट्रिय औसत प्रतिहेक्टर ३ सय ९६ ग्रामको १० गुणासम्म बढी विषादी प्रयोग हुने गरेको आचार्य बताउँछन् । विभिन्न अध्ययनको निष्कर्षअनुसार संसारभर हरेक वर्ष करीब २० लाख मेट्रिक टन विषादी खपत हुने गरेको छ । करीब २ करोड ६० लाख मानिसमा विषादीको असर पर्ने र २२ लाखको विषकै कारण मृत्यु हुने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)