भक्तपुर । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ ।
सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्यांकीबाट पानी वितरण गर्ने गरी केयूकेएल र नगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सिना भट्टराई तथा केयूकेएलका तर्फबाट उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की र खानेपानी सञ्चालन महाशाखाका प्रमुख रमेश केसीबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । -रासस