काठमाडौं । कृषि विकास बैंकले पोखरा र दोलखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको गण्डकी प्रदेश कार्यालय पोखराले बिहीवार नयाँबजारस्थित गुरुकुल विद्यासदनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा कक्षा ११ मा अध्ययनरत ७० जना विद्यार्थीलाई बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठ र नेपाल राष्ट्र बैंक पोखरा शाखाकी निर्देशक आर्या जोशीले वित्तीय साक्षरतासम्बधी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बैंकको विकास क्रम, बचत गर्ने बानी, बचतको महत्त्वलगायत विषयमा जानकारी दिइएको थियो । साथै बैंकले उपलब्ध गराउने कर्जाका प्रकार, निक्षेप तथा कर्जा, विभिन्न डिजिटल प्रडक्ट र वित्तीय अनुशासनका बारेमा सहभागीलाई जानकारी गराइएको थियो ।
गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रकाश कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कार्यालय, पोखराका वरिष्ठ शाखा प्रमुखहरू कृष्णकुमारी पौडेल, महेश पौडेल, भीम सुवेदीलगायत अन्य कर्मचारीको उपस्थिति थियो ।
त्यस्तै, बैंकको बागमती प्रदेश कार्यालयले दोलखाको जिरीस्थित सरस्वती सामुदायिक विद्यालयमा बिहीवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका उपमहाप्रबन्धक दीर्घबहादुर अर्याल, प्रदेश कार्यालय बागमतीका मुख्यनिर्देशक निर्मलप्रसाद उपाध्याय, शाखा प्रमुख सुदीपभक्त आचार्यसमेतको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा विद्यार्थी तथा अन्य सहभागीले वित्तीय ज्ञान लिएको बैंकले जानकारी दिएको छ । बैंकिङ कारोबारका बारेमा बैंकका मुख्य निर्देशक उपाध्यायले जानकारी दिएका थिए ।