ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मालवस्तु वर्गीकरणमा प्रविधिमैत्री वर्णानुक्रम सूची : पर्यायवाची शब्दसहितको सूची बनाउनु आवश्यक

२०७९ चैत, १४  
लेख | दृष्टिकोण
Jagdamba Supershine Image Not Found

नेपालको वैदेशिक व्यापारमा सबैभन्दा बढी सोधिने प्रश्न वस्तुको एचएस वर्गीकरण सम्बन्धी नै हो । विभिन्न सर्च इन्जिनहरूको उपलब्धता, पोर्टलहरूको व्यवस्था, वस्तुगत संघसंस्थाका जानकारीहरू, हेल्प डेस्कहरूमा सहज पहुँच भए पनि वस्तुको संकेत नम्बर यकीन गर्न कठीन बन्दै आएको छ ।

मालवस्तुको संकेत नम्बरको यथार्थ ज्ञानको कमी हुँदा यसले नेपालको समग्र वैदेशिक व्यापारको कार्यसम्पादनमा समेत असर गरिरहेको छ । एचएसकोड यकीन हुन नसक्दा यसले सम्बन्धित पक्षलाई भन्सार राजस्व, छुट, सुविधा तथा अन्य गैरभन्सार प्रावधानका बारेमा निक्र्यौल गर्न समस्या सिर्जना हुने गरेको छ । यसका अतिरिक्त वैदेशिक व्यापार तथा उद्योग व्यवसायका क्षेत्रमा क्रियाशील अनुसन्धानकर्ता तथा प्रवेश इच्छुकहरू एचएसकोड यकीन हुन नसक्दा परिभाषागत र तथ्यांकगत समस्याबाट गुज्रिनु परिरहेको देखिन्छ ।

पर्यायवाची शब्दहरूको व्यापक सूची तयार गरिसकेपछि सफ्टवेयरको विकास गरी प्रचलित अन्तरराष्ट्रिय नाम, प्रमुख बजारमा प्रचलित नाम, उत्पादन क्षेत्रमा प्रचलित नाम, औद्योगिक प्रयोजनमा प्रचलित नाम र देशभित्रका विभिन्न भाषामा रहेका प्रचलित नाम अनुसार समेत एचएसकोड सर्च इन्जिनको व्यवस्था गर्नु जरुरी छ । 

मालवस्तुको यथार्थ संकेत नम्बरको ज्ञान नहुनुमा तीनवटा कारणहरू रहेका छन् । पहिलो, एचएसकोड प्रणालीको संरचनागत, अर्थगत र भाषागत व्यवस्थाका कारण यो प्रणालीमा गई संकेत नम्बरहरू  बुझ्न कठिन हुन गएको हो । सिद्धान्ततः मालवस्तुको वर्गीकरण जुन रूपमा प्रवाह हुनु पर्ने हो सो अनुरूप नहुनु एचएस प्रणालीको संरचनागत समस्याको रूपमा रहेको पाइन्छ  ।

उदाहरणका लागि एचएस वर्गीकरणको भाग १ देखि २४ सम्मका संकेत नम्बरहरूलाई कृषिजन्य उत्पादनका शीर्षकमा वर्गीकृत गरिएको छ । परन्तु छाला, कपास आदिलाई भाग ४१ र ५२ मा वर्गीकृत गरिएको छ । मानवका रौंलाई भाग ५ मा वर्गीकृत गरिएको छ भने मानवनिर्मित रौंका विग्सहरूलाई भाग ६७ मा वर्गीकृत गरिएको छ ।

फोटोग्राफीका वस्तुहरूलाई भाग ३७, ८५ र ९० मा वर्गीकृत गरिएको छ । मूर्तिका सन्दर्भमा कुरा गर्दा प्लाष्टिकका मूर्ति भाग ३९ मा, काठका मूर्ति भाग ४४ मा, ढुंगाका मूर्ति भाग ६८ मा, माटाका मूर्ति भाग ६९ मा काँचका मूर्ति भाग ७० मा, धातुका मूर्ति भाग ८३ मा वर्गीकृत गरिएका छन् ।

फलफूललाई भाग ८ मा वर्गीकृत गरिएको छ परन्तु फलफूलका रसहरूलाई भाग २० मा वर्गीकृत गरिएको छ । तरकारीलाई भाग ७ मा वर्गीकृत गरिएको छ भने तरकारीबाट बनेका खाद्य वस्तुहरूलाई भाग २० मा वर्गीकृत गरिएको छ । दूध र अन्नका लागि क्रमशः भाग ४ र भाग १० आबटित गरिएको छ । यिनका तयारी परिकारका लागि भने भाग १९ का संकेत नम्बरहरूको व्यवस्था गरिएको छ । वाहनहरू तथा तिनका पार्टपूर्जाहरूलाई भाग ८६, ८७, ८८ र ८९ भागहरूमा आबटित गरिएको छ भने ती वाहनका सिटहरूलाई भाग ९४ मा समेटिएको छ । चिकित्सा सामग्रीका लागि भाग ९० आबटित गरिएको छ तर चिकित्सा प्रयोजनमा उपयोग हुने कुर्सी र बेडहरू भाग ९४ मा समेटिएका छन् ।  दाँत माझ्ने ब्रसलाई भाग ९६ मा वर्गीकृत गरिएको छ तर इलेक्ट्रिक ब्रस भने भाग ८५ मा वर्गीकृत गरिएको छ ।

मालवस्तुको एचएस वर्गीकरण प्रणालीमा रहेका उपर्युक्त संरचनागत समस्याका कारण मालवस्तु वर्गीकरणको घोषित सिद्धान्त बमोजिम प्रवाहित हुन नसक्दा कुन वस्तु कुन भागको कुन शीर्षकको कुन उपशीर्षक र कुन राष्ट्रिय उपशीर्षकभित्र पर्दछ भन्ने विषयमा सेवाग्राहीहरूलाई यकीन गर्न कठिनाइ पर्ने गरेको छ ।

यस्तै मालवस्तु वर्गीकरणमा विद्यमान अर्थगत (सेमेन्टिक) समस्याका कारण पनि कुन वस्तुको संकेत नम्बर कति हो भन्ने विषयमा यकीन गर्न थप कठिनाइ उत्पन्न भएको छ ।

उदाहरणका लागि कम्प्युटरलाई लिन सकिन्छ । एचएसकोडको भाषामा यसलाई अटोमेटिक डाटा प्रोसेसिङ मेशिन भनिन्छ । इलेक्ट्रिक टुथब्रसलाई इलेक्ट्रोमेकानिकल डोमेस्टिक अप्लायन्स विथ सेल्फ कन्टेन्ड इलेक्ट्रिक मोटर अदर द्यान भ्याकुम क्लिनर्स अफ हेडिङ ८५.०८ भनिन्छ । ब्लो ड्रायरलाई इलेक्ट्रोथर्मिक हेयर डे«सिङ एपेरेट्स भनिन्छ । यी उदाहरण विश्व भन्सार संगठनको एक अध्ययनमा नै उल्लेख गरिएका छन् । औद्योगिक र रासायनिक नाममा रहेको पृथकताका कारण पनि बुझाइमा थप समस्या उत्पन्न भएको देखिन्छ ।

यस्तै भाषागत कारणले पनि मालवस्तुको संकेत नम्बर यकीन गर्न कठिनाइ उत्पन्न हुने गरेको छ । सम्बन्धित देशहरूमा विशेष उत्पादन हुने मालवस्तुको यथार्थ अंग्रेजी नाम उपलब्ध नहुनु र अंग्रेजी नाममा भएका वस्तुहरूको यथार्थ नेपाली नाम उपलब्ध नहुँदा पनि समस्या पैदा भएको छ । उदाहरणका लागि ह्वेलाई लिन सकिन्छ जुन दूध दही आदि फाटेर निस्केको पानी भनेर परिभाषित गरिएको छ । यसको यथार्थ नेपाली शब्दको व्यवस्था नहुँदा यसको बारेमा नयाँ सेवाग्राहीलाई एचएसकोड यकीन गर्न कठिनाइ उत्पन्न हुन जान्छ । दहीलाई योगहर्ट र कर्डका रूपमा  नामांकन गरिँदा कुन संकेतमा राख्ने भन्ने समस्या पैदा भएको देखिन्छ ।

यसरी एचएस वर्गीकरणका क्षेत्रमा देखिएका तीन वटा समस्या मध्ये संरचनागत समस्या वैश्विक रूपमा रहेको छ । एचएस वर्गीकरणको आधिकारिक निकाय विश्व भन्सार संगठनले यस संरचनामा पुनरवलोकन नगरेसम्म यस पक्षमा सुधार ल्याउन सम्भव देखिएको छैन । परन्तु एचएस वर्गीकरणमा रहेका संरचनागत समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने विषयमा प्राज्ञिक बहसको खाँचो भने सर्वत्र महसूस गरिएको छ ।

एचएस वर्गीकरणमा विद्यमान अर्थगत र भाषागत समस्याहरूको समाधानका लागि सम्बन्धित देशहरूले ती वस्तुहरूका लागि बुझिने गरी आफ्नो देशको भाषामा र निकटतम रूपमा प्रतिनिधित्व हुने अंग्रेजी भाषाका शब्द सूची तयार गरेका हुन्छन् जसले गर्दा ती शब्द सूचीका आधारमा सर्च गर्दा सम्बन्धित वस्तुहरूको संकेत नम्बर तुरुन्त प्राप्त हुन सकोस् ।

वस्तु वर्गीकरणमा विद्यमान अर्थगत समस्याको सम्बोधनको उत्कृष्ट उदाहरण अमरकोशमा पाइन्छ जहाँ सम्पूर्ण शब्दहरूलाई विभिन्न वर्गमा वर्गीकृत गरी हरेक शब्दका निकटवर्ती शब्दहरू (पयार्यवाची शब्दहरू) को वर्ग तयार गरिएको छ । उहाहरणका लागि अमरकोशमा स्वर्ण धातुका लागि १९ वटा पर्यायवाची शब्दहरू राखिएका छन् । यस अर्थमा हेर्दा जसले स्वर्णलाई जसरी बुझ्न सक्दछ सोही अनुरूप ती शब्दको बोध हुन जान्छ । अहिले वल्र्डनेटमा अमरकोशको संरचना जस्तै आर्टिफिसियल इन्टेलिजेन्सका लागि शब्दहरूको नेटको संरचना तयार गरिएको छ । नेपालले पनि अमरकोशको प्राचीन शब्द संरचना र वर्तमान वल्र्डनेटको संरचनालाई आधार मान्दै वर्तमान एचएस वर्गीकरणमा रहेका वस्तुहरूको सूची तयार गर्नुपर्दछ र सर्च इन्जिनबाट सजिलै खोज्न सक्ने व्यवस्था गर्नु जरुरी देखिन्छ । यसका लागि वर्तमान एचएसकोडमा रहेका अंग्रेजी भाषाका नामहरूलाई सरल नेपाली भाषामा पर्यायवाची शब्दको सूची तयार गरिनुपर्दछ । यसका अतिरिक्त ल्याटिन र ग्रीक भाषामा रहेका वैज्ञानिक नामहरू र विभिन्न रसायनका रसायनशास्त्र बमोजिम रहेका नामहरूलाई पनि स्थानीय तथा औद्योगिक प्रयोजनमा अभ्यासमा रहेका भाषामा शब्दहरूको पर्यायवाची सूची तयार गर्नुपर्दछ । यसैगरी सम्बन्धित नामहरू अन्य क्षेत्रगत निकायका नामहरूसँग रहेको निकटतालाई समेत दृष्टिगत गरी ती नामहरूको सूची तयार गरिनुपर्दछ । यसरी पर्यायवाची शब्दहरूको व्यापक सूची तयार गरिसकेपछि सफ्टवेयरको विकास गरी प्रचलित अन्तरराष्ट्रिय नाम, प्रमुख बजारमा प्रचलित नाम, उत्पादन क्षेत्रमा प्रचलित नाम, औद्योगिक प्रयोजनमा प्रचलित नाम र देशभित्रका विभिन्न भाषामा रहेका प्रचलित नाम अनुसार समेत एचएसकोड सर्च इन्जिनको व्यवस्था हुनु जरुरी छ ।  

भन्सार सुधार कार्ययोजनाको ६.४.६ शीर्षकमा उल्लेख भएको मालवस्तु वर्गीकरणको नेपाली भाषामा वर्णानुक्रममा सूची तयार गर्ने कार्ययोजना रहेको सन्दर्भमा यस पक्षलाई अझ विस्तार गरी माथि भनिएझैं एचएसकोडका सम्बन्धमा थप व्यवस्था हुन जरुरी रहेको छ ।

लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)