ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

वेदकोटमा पन्ध्र शय्याको अस्पताल भवन निर्माण हुँदै

२०७९ चैत, १५  
सुदूरपश्चिम प्रदेश
Jagdamba Supershine NA

कञ्चनपुर । सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउन वेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवनको निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं ३ मा रू. नौ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो । अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण कम्पनीसँग अस्पताल निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि साइड क्लियर नहुँदा निर्माण ढिलो गरी शुरू भएको छ । नगरप्रमुख भोजराज बोहराले अस्पताल निर्माण अगाडि बढेको बताए ।

‘अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भए पनि आवश्यक जग्गाको व्यवस्थापन नहुँदा कार्य अगाडि बढ्न सकेको थिएन,’ उनले भने, ‘जग्गा व्यवस्थापन गरी निर्माण व्यवसायीलाई ताकेता गर्‍यौं, साइट क्लियर भएपछि निर्माण अगाडि बढेको छ ।’ उनका अनुसार अस्पताल निर्माणका लागि शारदा माध्यमिक विद्यालयले सात कठ्ठा, सामुदायिक वनले पाँच कठ्ठा गरी १२ कठ्ठा जग्गा उपलब्ध गराएको छ । अस्पतालका लागि दुईओटा भवन, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीका लागि आवासीय भवन निर्माणका लागि योजना निर्माण गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टका अनुसार दुई वर्षभित्रै निर्माण सक्नेगरी विसं २०७७ मा ठेक्का सम्झौता भएको थियो ।  

अस्पताल निर्माण भई सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाले चिकित्सकीय सेवा लिनका लागि महेन्द्रनगर र भारततर्फ जानुपर्ने झन्झट हट्ने बताइएको छ । नगरपालिकामा हालसम्म दुईओटा स्वास्थ्यचौकी, दुईओटा चौबीस घण्टे बर्थिङ सेन्टर र १० आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)