ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

४०० केभी प्रसारण लाइनको केबल उत्पादन गर्दै लिटमस, '४ अर्ब लगानीमा १५ बिघामा नयाँ प्लान्ट'

२०७९ चैत, १५  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ४०० केभी प्रसारण लाइनको कन्डक्टर उत्पादन गर्ने देशको एक्लो विद्युतीय केबल उत्पादक ‘लिटमस इन्डस्ट्रिज’ले ४ अर्ब लगानीमा उत्पादन प्लान्ट विस्तार गर्ने भएको छ । 

बुटवलमा १ अर्ब रुपैयाँ लगानीको प्लान्टबाट उत्पादन गरिरहेको कम्पनीले परासीमा नयाँ प्लान्ट स्थापना गर्न थालेको जानकारी दिएको छ । नयाँ प्लान्टबाट पनि ४०० केभी प्रसारण लाइनमा लाग्ने एचटी केबल नै उत्पादन गर्ने कम्पनीका उपाध्यक्ष सरोज मिश्राले जानकारी दिए । लिटमसले अहिले इनरुवा–ढल्केवर ४०० केभी प्रसारण लाइनमा कन्डक्टर आपूर्ति गरिरहेको छ । लिटमसले उक्त प्रसारण लाइनमा ४०० केभीको कन्डक्टर आपूर्ति गर्नमात्रै ३ अर्ब २४ करोड रुपैयाँ बराबरको ठेक्का पाएको उपाध्यक्ष मिश्राको भनाइ छ । 

रमेश कर्पको भागिनी कम्पनी लिटमससँग अहिले विद्युत् प्राधिकरणलाई केबल आपूर्ति गर्ने मात्रै करीब साढे ५ अर्ब रुपैयाँ बराबरको ठेक्का छ । 

बुटवलमा रहेको उद्योगले सन् २०२० मा उत्पादन क्षमता बढाएर ४०० केभी प्रसारण लाइनलाई चाहिने कन्डक्टर उत्पादन शुरू गरेको थियो । २०र३० करोड रुपैयाँ मात्रै लगानी भएको उद्योगमा कम्पनीले करीब ७०र८० करोड रुपैयाँ लगानी थपेर क्षमता विस्तार गरेको थियो । त्यही क्षमता विस्तारपछि उसले विद्युत् प्राधिकरणबाट साढे ५ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का हात पारेको हो ।

कम्पनीले नेपाल इकरात इन्जिनीयरिङ कम्पनी (निक)लाई ट्रान्सफर्मर बनाउन आवश्यक पर्ने इनामेल वायर र पेपर स्ट्रिप्स पनि आपूर्ति गर्दै आएको छ । निकले बनाउने करीब १० हजार ट्रान्सफर्मरमा लिटमस पनि साझेदार छ । तीमध्ये ७ हजार ट्रान्सफर्मर बनिसकेका छन् । 

बुटवल औद्योगिक क्षेत्रभित्र ठाउँ अपुग भएपछि कम्पनीले परासीमा नयाँ प्लान्ट स्थापनाको काम अघि बढाएको हो । त्यसको लागि करीब ४ अर्ब रुपैयाँ थप लगानी गर्न लागिएको उपाध्यक्ष मिश्राले जानकारी दिए ।

परासीमा जग्गा खरीदको काम लगभग सम्पन्न भएको छ । बुटवलमा २ बिगाहा जग्गामा सीमित भएको कम्पनीले परासीमा करीब १५ बिगाहाको विशाल क्षेत्रफलमा नयाँ प्लान्ट स्थापना गर्नेछ ।

यसअघि घरायसी वायरिङ र सानो क्षमताका प्रसारण लाइनमा प्रयोग हुने केबल उत्पादनमा सीमित लिटमस अब भने पंखा, एलईडी लाइट, एमसीबी लगायत अन्य विद्युतीय उपकरण पनि उत्पादन गर्ने योजनामा छ ।

कम्पनीको मुख्य ध्यान आयात प्रतिस्थापन र त्यसपछि निर्यातमा केन्द्रित रहेको उपाध्यक्ष मिश्राले बताए । 

लिटमसले ओभरहेड कन्डक्टर (ओएचसी) अन्तर्गत कन्डक्टर र केबल उत्पादन गर्छ । त्यसमध्ये एक हो– एसीएसआर कन्डक्टर । यसको आकार २० देखि ५ सय वर्ग मिलिमीटर हुन्छ । यसको प्रयोग ११ देखि ४०० केभी प्रसारण लाइनमा हुन्छ । 

अर्को हो– एरियल बन्च्ड केबल ९एबीसी० । यसको आकार २५ देखि १५० वर्ग मिलिमीटर हुन्छ । यसको प्रयोग शहरी क्षेत्रमा राखिने ओभरहेड डिस्ट्रिब्युशन १ दशमलव १ केभीमा प्रयोग गरिने कम्पनीले जानकारी दिएको छ ।

एक्सएलपीई कभर्ड कन्डक्टर्स पनि लिटमसले उत्पादन गर्छ । यसको आकार ५५ देखि १५० वर्ग मिलिमीटर हुन्छ । यसको प्रयोग ११ केभीए ओभरहेड प्रसारण लाइनमा गरिन्छ  ।

त्यसैगरी लिटमसले घरायसी तथा अन्य प्रयोगलाई लक्षित गर्दै केबल तथा वायर उत्पादन गर्छ । १ दशमलव ५ देखि १ हजार वर्ग मिलिमीटर आकारको एलभी पावर केबल लिटमसले बनाउँछ । यसको प्रयोग औद्योगिक तथा व्यापारिक क्षेत्रमा हुन्छ ।

अर्को भनेको हाउस वायरिङ केबल हो । एफआर, एफआरएलएस, फ्लेक्जिबल ट्वीन र कन्सेन्ट्रिक गरी चार प्रकारका घरायसी वायरिङ तार कम्पनीले उत्पादन गर्छ । यसको आकार शून्य दशमलव ५ देखि १६ वर्ग मिलिमीटरसम्म हुन्छ ।

लिटमसले ट्रान्सफर्मर तथा अन्य विद्युतीय उपकरणमा प्रयोग हुने इनामेल वायर र पेपर स्ट्रिप्स पनि उत्पादन गर्छ । नेपालमै उत्पादन हुने निकलगायत ट्रान्सफर्मरले लिटमसकै इनामेल वायर र पेपर स्ट्रिप्स प्रयोग गर्छन् ।

इनामेल वायरको आकार १० देखि ४५ स्ट्यान्डर्ड वायर गज (एसडब्लूजी) रहेको र पेपर इन्सुलेटेड स्ट्रिप्सको आकार १ दशमलव ४ देखि ३ दशमलव ५ मिलिमीटर रहेको कम्पनीले बताएको छ ।

लिटमससँग एसीसीएसआर कन्डक्टरको वार्षिक उत्पादन क्षमता ६७ हजार ७५० किलोमीटर छ । एबीसी वार्षिक २९ हजार ७०० किलोमीटर, एक्सएलपीई कभर्ड कन्डक्टर्स १९ हजार ९०० किलोमीटर र पावर केबल्स ४५ हजार ३२० किलोमीटर उत्पादन क्षमता रहेको कम्पनीले जानकारी दिएको छ ।

यस्तै, कम्पनीसँग हाउस वायरिङ केबलको उत्पादन क्षमता वार्षिक २५ लाख ३९ हजार ५७० क्वाइल छ । एक क्वाइलमा ९० मीटर तार हुन्छ । इनामेल र स्ट्रिप्सको वार्षिक उत्पादन क्षमता १३ हजार ६ सय टन रहेको कम्पनीले बताएको छ । यतिका धेरै उत्पादन क्षमता भए पनि अहिले भने कुल उत्पादन क्षमताको १० प्रतिशत पनि उपयोग नभएको कम्पनीको भनाइ छ ।

बजार विस्तारमा आक्रामक बन्ने रणनीति

नेपालमा घरायसी उपयोगका तार उत्पादन गर्ने उद्योग करीब २०/२२ ओटा र एबीसी केबल उत्पादन गर्ने उद्योग ३–४ ओटा छन् ।

‘घरायसी प्रयोगलाई चाहिने तार उत्पादक धेरै छन् । कम लगानीमै उद्योग लगाउन सकिने भएकाले धेरै जनाले यसमा हात हालेका छन् । हामीसँग हाउस वायरिङ केबलको उत्पादन क्षमता वार्षिक २५ लाख क्वाइलभन्दा बढी छ । तर, हामीले महीनाको २५ देखि ३० हजार क्वाइलभन्दा बढी उत्पादन विक्री गर्न सकेका छैनौं,’ मिश्राले भने, ‘बजारमा धेरै उत्पादन छन् । भारतबाट समेत अवैध रूपमा मापदण्डविपरीतका तार आइरहेका छन् । यसले पनि बजार बिगारेको छ ।’

चोरी पैठारीले समस्या 

मिश्राका अनुसार घरमा प्रयोग हुने विद्युतीय तारले अनिवार्यरूपमा नेपाल गुणस्तर प्रमाण चिह्न ने.गु. ३४४ लिनुपर्ने भए पनि बजारमा गुणस्तर चिह्न नलिएका उत्पादनसमेत विक्री भइरहेका छन् । त्यसैगरी विभिन्न परियोजनामा रहेका भारतीय कन्सल्टेन्टले समेत भारतबाटै त्यस्ता तार ल्याइरहेको उनले जानकारी दिए ।

भारतबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरिएका केबलबाटै कम्पनीले कम्तीमा ४० प्रतिशत भ्यालु एड गरिरहेको मिश्राले बताए । अहिले घरायसी केबलको पनि लिटमसले १५–१८ प्रतिशत बजार अंश ओगटेको उनको दाबी छ ।

लिटमसले वेदान्त लिमिटेड, हिन्दलको, युनियन कप्पर, केएलजी ग्रूप, बोरोज, बिहानी ग्रूप, केकल्पना, फुजाइरा गोल्ड र हुलास वायर्सबाट कच्चा पदार्थ खरीद गर्दै आएको छ । 

लिटमसको सबैभन्दा ठूलो सामान खरीदकर्ता विद्युत् प्राधिकरण हो । निक, बुटवल पावर कम्पनी, नेपाल टेलिकम, भुटान पावर कर्पोरेशन, शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र एयरटेकलगायतले पनि लिटमसको उत्पादन खरीद गरिरहेका छन् ।

यस्तै, ट्रान्सवेल्ड नेपाल, बलेफी हाइड्रोपावर, एमएडब्ल्यू इन्जिनीयरिङ र जगदम्बा सिमेन्ट पनि लिटमसकै ग्राहक हुन् ।

दुई दशकअघि नै भारत र भुटानमा निर्यात 

सन् १९७७ मा लुम्बिनी विद्युत् उद्योगको नाममा स्थापना भएको उद्योग अहिले आएर लिटमस भएको हो । पहिले कम्पनीले एसीएसआर कन्डक्टर मात्रै उत्पादन गर्थ्यो ।  १९९४ मा कम्पनीले प्रडक्ट रेन्ज थप्दै इनामेल बाइन्डिङ वायर पनि उत्पादन शुरू गरेको थियो ।

सन् १९९६ मै कम्पनीले इनामेल वायर भारत निर्यात शुरू गरेको थियो । केही समयपछि भने भारत सरकारले नेपाली उत्पादनमा आयात शुल्क लगाउँदा कम्पनीले भारत निर्यात गर्न सकेन ।

त्यो समयमा लुम्बिनीले भारतको चेन्नई (तत्कालीन मद्रास), कोलकाता, दिल्ली र बैंगलोरमा दैनिक २० देखि २५ ट्रक उत्पादन निर्यात गर्ने गरेको उपाध्यक्ष मिश्रले बताए । 
सन् २००५ मा कम्पनीले भुटानमा पनि उत्पादन निर्यात गरेको थियो । भुटानको विभिन्न १४ ओटा ठेक्कामार्फत ९ ओटा परियोजनामा निर्यात गरेको उपाध्यक्ष मिश्राले जानकारी दिए । सन् १९९८ मा कम्पनीले उत्पादन पोर्टफोलियोमा पेपर इन्सुलेटेड स्ट्रिप्स थप्यो । २००६ मा पावर केबल र २००८ मा एरियल बन्च्ड केबल उत्पादन थाल्यो ।

सन् २०१० मा एनएस गुणस्तर अवार्ड 

सन् २०१० मा लुम्बिनीले एनएस गुणस्तर अवार्ड प्राप्त गर्‍यो । २०१५ मा इन्डियन स्ट्यान्डर्ड सर्टिफिकेशन पायो । २०१९ मा भने पुराना कर्मचारी तथा बोर्ड सदस्यलाई बिदाइ गर्दै कम्पनीले सञ्चालक तथा उच्च व्यवस्थापनमा फेरबदल गर्‍यो ।

त्यसको ठीक १ वर्षमा कम्पनीले उद्योगको उत्पादन क्षमतासहित मुख्य अपग्रेडेशन गर्न सफल भयो । सन् २०२० कै अपग्रेडेशनमा टेकेर कम्पनीले २०२१ मा नेपाल विद्युत् प्राधिकरणलाई ५ करोड अमेरिकी डलरभन्दा बढीको एबीसी केबल आपूर्ति गर्ने ठेक्का हात पारेको थियो ।

सन् २०२२ मा कम्पनीले ३ हजार ६०० किलोमीटर बराबरको ४०० केभी प्रसारण लाइनको कन्डक्टर आपूर्ति गर्ने अर्को ठेक्का पायो । जुन इनरुवा–ढल्केवर ४०० केभी प्रसारण लाइनमा प्रयोग भइरहेको छ ।

पुस्तान्तरणसँगै रिब्रान्डिङ 

सन् २०२२ मा कम्पनीले आफ्नो नाम लुम्बिनी विद्युत् उद्योगबाट लिटमस इन्डस्ट्रिज बनायो । र प्रालिलाई पब्लिक कम्पनीमा रूपान्तरण गर्दै सर्वसाधारणलाई प्राथमिक शेयर निष्कासनको योजना अघि सार्‍यो ।

कम्पनीका उपाध्यक्ष मिश्राका अनुसार कम्पनी, बजार र देशकै समग्र आर्थिक स्थितिलाई मूल्यांकन गर्दै सर्वसाधारणलाई प्राथमिक शेयर निष्कासन गर्ने योजनाअनुरूप लिटमसलाई पब्लिक कम्पनीमा लगिएको हो ।

लिटमसले अबको डेढ वर्षभित्रमा आफ्ना उत्पादन निर्यात गर्ने गरी तयारी गरिरहेको छ । यस्तै, आगामी ५ वर्षमा प्रडक्ट पोर्टफोलियो विस्तार गर्ने रणनीति छ । कम्पनीले एमसीबी, एलईडी लाइट, फ्यान, स्विच र इन्डक्शन उत्पादनसमेत थाल्ने योजना बनाएको छ ।

कम्पनीले देशभर १३० भन्दा बढी डिस्ट्रिब्युटर र २ हजारभन्दा बढी रिटेल पोइन्टबाट उत्पादन विक्री गरिरहेको बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)