ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

झापामा भूमिगत सिँचाइ परियोजना सञ्चालन

२०७९ चैत, १६  
कोशी प्रदेश
Jagdamba Supershine Image Not Found

झापा । दक्षिण झापाको हजारौं बिघा जग्गामा सिँचाइ सुविधा पुर्‍याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल सरकारले रू. १२ करोड बजेट विनियोजन गरेको छ । नदी सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती भइरहेको जिल्लाको कचनकबल गाउँपालिकाका सातओटै वडा र भद्रपुर नगरपालिकाका १, २ र ३ मा यसै वर्षदेखि परियोजना सञ्चालन भएको हो ।

झापा भूमिगत सिँचाइ परियोजनाका इन्जिनीयर भूविक्रम नेम्बाङका अनुसार कचनकबल र भद्रपुरका १० ओटा वडामा शतप्रतिशत अनुदानमा एक सय ७१ ओटा ‘डिप बोरिङ’ स्थापना गरेर आठ हजार पाँच सय बिघा जग्गामा बाह्रैमास सिँचाइ सुविधा पुर्‍याइने कार्यक्रम छ । परियोजना सञ्चालनका लागि नेपाल सरकारले यसै वर्ष शिवसताक्षी नगरपालिका–१० माईधारमा आयोजनाको कार्यालय र भद्रपुरमा फिल्ड कार्यालय स्थापना गरेर परियोजनाको कार्य धमाधम भइरहेको उनले बताए ।

‘यो शत्प्रतिशत अनुदानमा आधारित कार्यक्रम हो, यसमा किसानले केही पनि लगानी गर्नु पर्दैन,’ इन्जिनीयर नेम्बाङले भने, ‘नदीको सिँचाइ नपुगेका उर्वर जग्गामा सिँचाइको सुविधा पुर्‍याएर कृषिको उत्पादकत्व बढाउन योगदान पुर्‍याउन सरकारले किसानका लागि यो कार्यक्रम ल्याएको हो ।’

आयोजनाबाट सिँचाइ सुविधा लिन ५० देखि ६० बिघा जग्गाका किसानले आपसमा मिलेर उपभोक्ता समिति गठन गर्नुपर्ने र त्यसलाई कार्यालयमा दर्ता गराउनुपर्ने हुन्छ । सम्बन्धित वडा कार्यालयबाट ल्याएको सिफारिशका आधारमा उपभोक्ता समितिले माग गरेबमोजिम आयोजनाले सिँचाइ कार्यक्रम सञ्चालन गर्ने प्रावधान छ ।     

चालू आर्थिक वर्षमा कचनकबलको वडा नं १ र ३ तथा भद्रपुरको वडा नं ३ का उपभोक्ता समितिको मागबमोजिम ३५ स्थानमा ‘डिप बोरिङ’ खन्ने कार्य अघि बढाइएको र अर्को वर्ष थप स्थानमा पनि सिँचाइ सुविधा पुर्‍याइने उनले जानकारी दिए । आयोजनाले किसानलाई सामूहिक रूपमा सुविधा उपलब्ध गराउने भएकाले परियोजनामा किसानको सहकार्य बलियो हुने देखिएको छ । सरकारका तर्फबाट ‘डिप बोरिङ’ खन्ने कार्य सकेपछि हाइटेन्सन लाइनबाट बिजुलीको सुविधा पुर्‍याउने र खेतखेतमा पानी वितरणका लागि पाइप बिछ्याउने कार्य गरिनेछ । विद्युतीकरण, पाइप विस्तार र २५ देखि ५० केभीएसम्मको ट्रान्सफर्मर जडानको सम्पूर्ण लागत आयोजनाले नै बेहोर्ने इन्जिनीयर नेम्बाङले बताए । आकाशे वर्षाको भरमा सिँचाइमा निर्भर स्थानीय किसान भूमिगत सिँचाइ आयोजना गाउँमा आएपछि उत्साही भएका छन् । कचनकबल गाउँपालिका–१ सोमबारेकी भागीरथा अधिकारीले आफ्नो वडामै आठओटा जल उपभोक्ता समिति गठन भइसकेको बताइन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)