काठमाडौं। चालू आर्थिक वर्ष (आव) २०७९/८० को साउनदेखि हालसम्म उद्योग विभागमा पाँचओटा पेटेन्ट दर्ता भएका छन् । त्यसमध्ये पोखरा विश्वविद्यालयका मात्रै चारओटा पेटेन्ट दर्ता भएका हुन् । पोखरा विश्वविद्यालयले अल्लो र लोक्ता प्रशोधनका लागि विकास गर्ने उपकरणको पेटेन्ट पाएको हो ।
उक्त विश्वविद्यालयले मुलुकभित्रको कच्चा पदार्थ अल्लो र लोक्ताका रेसा निकाल्ने, पकाउने र प्रशोधन गर्ने उपकरणका लागि पेटेन्ट दर्ता गराउन आवेदन दिएको थियो । विभागले पेटेन्ट दर्ता गरेको छ । यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित हुन बाँकी छ । अल्लो रिफाइनिङ सिस्टम, बिटिङ डिभाइस जस्ता मेशिनका लागि पेटेन्ट दर्ता गरिएको हो ।
विश्वविद्यालयले लोक्ताको बोक्रा पकाउन प्रेसराइज्ड बिजुलीको भाँडो, हिमालयन अल्लोको फाइबरका लागि बिटिङ उपकरणको पेटेन्ट दर्ता गराउन आवेदन दिएको थियो । विभागको औद्योगिक सम्पत्ति शाखाका इन्जिनीयर शैलजा श्रेष्ठले चालू आवको यो अवधिसम्ममा पेटेन्ट दर्ताका लागि २५ आवेदन परेको जानकारी दिइन् । त्यसमध्ये पाँचओटाको मात्रै पेटेन्ट दर्ता भएको हो ।
बौद्धिक सम्पत्ति मानिने पेटेन्ट दर्ता भएपछि सोको अधिकार २१ वर्षसम्म दर्ता गराउने व्यक्ति वा संस्थाको स्वामित्वमा हुने उनको भनाइ छ । त्यसमा दर्ता भएको पहिलो ७ वर्ष र दुईपटक नवीकरण गरेर २१ वर्षसम्म दर्ता गर्नेको अधिकार हुन्छ । विश्वविद्यालयले तयार गर्ने उपकरण तथा नयाँ प्रविधिले अल्लो र लोक्ता प्रशोधन तथा रेसा निकाल्ने काम थप सहज हुने उल्लेख गरिएको छ ।
अनुसन्धान र विकासमा लगानी नै कम हुँदा औसतमा कम मात्रामा पेटेन्ट दर्ता हुने गरेको इन्जिनीयर श्रेष्ठको भनाइ छ । ‘प्रविधि, दक्ष जनशक्ति, अनुसन्धानमा लगानी हुन सकेमात्रै पेटेन्ट लिनेको संख्या बढ्न सक्छ,’ श्रेष्ठले भनिन्, ‘यद्यपि आवेदन भने ठीकठीकै आउने गरेको छ । पुरानो (पेटेन्ट, डिजाइन र टे«डमार्क ऐन २०२२) ऐन हुँदा समस्या भएको छ ।’
अहिले उत्तिसको काठलाई सुक्खा बनाउने प्रविधि, अदुवा कटर जस्ता मेकानिकल मेसिनको पेटेन्ट दर्ता छ । नेपालमा पेटेन्ट दर्ता हुने वस्तुको वर्गीकरण हुन अझै बाँकी छ । विभागका अनुसार फागुनसम्ममा डिजाइनमा २२ ओटा आवेदन परेकोमा ११ ओटा दर्ता भएका छन् । फागुनमा मात्रै २१३ ट्रेडमार्क दर्ता भएर चालू आवको यो अवधिसम्ममा विभागमा दर्ता भएका ट्रेडमार्क संख्या १७ सय ४८ पुगेको छ ।