काठमाडौं । सेतो मछिन्द्रनाथको जात्राकाे अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले विशेष फोटो प्रदर्शनी आयोजना गरेको छ । बिहीवारबाट तीन दिनसम्म चल्ने फोटो प्रदर्शनीको काठमाडौं महानगरपालिका–२७ का वडाअध्यक्ष योगेश खड्गी, असन सेवा समितिका अध्यक्ष यज्ञरत्न तुलाधर र जात्रा व्यवस्थापन समितिका संयोजक सुजिब बज्राचार्यले संयुक्तरूपमा उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका–२७ का वडाअध्यक्ष खड्गीले फोटोको माध्यमबाट जात्रालाई अन्तरराष्ट्रिय समुदायसम्म पुर्याउने कार्य गरेकोमा एनएफपीजेलाई धन्यवाद दिए ।
एनएफपीजेले संयोजन गरेको उक्त प्रदर्शनीको आयोजक सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति छ भने काठमाडौं महानगरपालिका वडा नं. १७, २१, २५ ,२७ र २८ को सहयोग रहेको छ । रथयात्राको प्रमुख विश्राम स्थलमा प्रदर्शनी हुनेछ । आज पहिलो दिन असन, दोस्रो दिन हनुमानढोका तथा तेस्रो दिन लगन टोलमा प्रदर्शनी हुने आयोजकले जनाएको छ । प्रदर्शनीमा करिब ३० व्यावसायिक फोटोपत्रकार तथा अन्य फोटोग्राफरहरूले खिचेका ५० भन्दाबढी फोटो राखिएका छन् ।
सेतो मच्छिन्द्रनाथको जात्राबारे जानकारी दिनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक सुनिल शर्माले जानकारी दिए ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्तरूपमा आस्था प्रकट गर्ने मच्छिन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रूपमा सम्मान गरिन्छ । स्थानीय जनबहालस्थित मन्दिरमा रहेको मूर्तिलाई विधिविधानपूर्वक रथारोहण गरी भित्री सहरको परिक्रमा गराइने प्रचलन छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट मनाइने यो जात्रा हिजोबाट शुरू भएको हो ।
काठमाडौंंको जमलबाट शुरू भएको जात्रा चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ ।
सेतो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पूजा गरिन्छ । अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रूपमा समेत मच्छिन्द्रनाथको पूजा आराधना गर्ने चलन छ । मच्छिन्द्रनाथको जात्रा मनाउँदा घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वाश छ ।
लगनमा मच्छिन्द्रनाथकी आमा भएको रुखको परिक्रमा गराइन्छ । रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पुर्याइन्छ ।
अष्टमीका दिन निकालिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई पूर्णिमाका दिन मन्दिरमा लगेर रथ यात्रा बिसर्जन गर्नुपर्ने प्रचलन छ । हिन्दू र बौद्ध धर्मावलम्बीहरूका साझा आस्थाका देवता सेतो मच्छिन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि पूर्णिमासम्म ५ दिन चल्छ ।
मूर्ति सेतो भएकोले देवताको नाम सेतो मच्छिन्द्रनाथ राखिएको विश्वास छ ।