काठमाडौं । समाजिक सञ्जालमा आफ्नो नाम र लोगोको प्रयोग गर्दै गलत सूचना प्रवाह गरेको भन्दै बुद्ध एयरले कानूनी उपचार खोज्ने भएको छ ।
सामाजिक सञ्जालमा कम्पनीको लोगोको प्रयोग गर्दै फ्लाइट सेलिब्रेशन गिफ्ट दिएको भन्ने भ्रामक प्रचार भइरहेकोले त्यसतर्फ ध्यानाकर्षण भएको बुद्धका प्रवक्ता दीपेन्द्र कर्णले आर्थिक अभियानसँग बताए ।
'हाम्रो कम्पनीको नाममा गलत प्रचार भएको छ । हामी कानूनी उपचार खोज्छौं । यसबारे वकिलसँग छलफलसमेत भएको छ,' उनले भने, 'छिट्टै नै यस्तो प्रचार गर्नेको आइडेन्टिफाई गर्न साइबर ब्यूरोलाई अनुरोध गर्दैछौं ।'
बुद्धका नाममा गरिएको फेक पोष्ट हाल ह्वाट्सएप, भाइबर, म्यासेन्जर तथा फेसबुकमा शेयर भइरहेको छ । एयरलाइन्सले सामाजिक सञ्जालमा फैलिरहेको उक्त पोष्टको फोटो शेयर गर्दै कम्पनीको तर्फबाट यस्ता सेलिब्रेशन नभएको बताएको छ ।
'सामाजिक सञ्जाल तथा म्यासेन्जरमा बुद्ध एयरको Flight Celebration Gift सम्बन्धमा हाम्रो ध्यानाकर्षण भएको छ । तस्वीरमा देखिएको यस किसिमको कुनै पनि अफर हामीले नल्याएको सबैमा अनुरोध छ,' बुद्ध एयरले लेखेको छ ।
पछिल्लो समय आफ्नो सामाजिक सञ्जालमा फ्लोअर र लाइक बढाउने उद्देश्यले नाम चलेका वा धेरै सर्च हुन सक्ने कम्पनीहरूको आधिकारिक लोगो तथा नामको गलत प्रयोग अत्यधिक हुने गरेको छ ।