पाँचथर । जमीन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ । दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौं स्थानमा जमीन नअडिने समस्याका कारण विशेषत: बर्खायाममा समस्या हुने गरेको छ । सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलले इलामको माईखोला क्षेत्र तथा पाँचथरको पांग्रेभीर र भारपा घ्यापेमा जमीन नअडिने समस्या राजमार्गका लागि चुनौतीपूर्ण बनेको बताए ।
जमीन भासिने र पहिरो झर्ने स्थानमा सधैं धुलो र हिलोको समस्याले सताउने गरेको उनले बताए । जमीन निरन्तर भासिने ठूलो क्षेत्र रहेको इलामको माईखोलामाथिका तीन स्थानमा सडक डिभिजन कार्यालय इलामले आर्थिक वर्ष २०७१/७२ मा ‘रक एन्करिङ’ प्रविधिबाट सडक अड्याउने प्रयास गरेको थियो । रू. ६ करोड लागतमा उक्त प्रविधिबाट सडक अड्याउने प्रयास गरिए पनि सो उपायले एक वर्षसम्म समेत काम नगरेको स्थानीयवासीको भनाइ छ । भिरालो बाटो निरन्तर भासिने हुनाले यहाँको यात्रा चुनौतीपूर्ण हुने गरेको छ ।
इलाममा माइखोला – भञ्ज्याङको ६ किलोमिटर सडक निरन्तर भासिने गरेको छ । यो स्थान जोखिमपूर्ण देखिएपछि खुदुनाबारी–दानाबारी–राकसे–बेलासे–भञ्ज्याङ सडक वैकल्पिक रूपमा प्रयोगमा आउन थालेको छ । रासस