काठमाडौं । राष्ट्रिय र अन्तरराष्ट्रिय परिवेशमा पार्टी र मुलुकलाई आवश्यक परेको बेला काम आउने नेताका रुपमा परिचित छन् नवनियुक्त अर्थ मन्त्री डा. प्रकाशशरण महत । नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभाका सदस्य रहेका डा.महत पूर्व अर्थमन्त्री डा. रामशरण महतका आफ्नै भाइ हुन् ।
उनको सचिवालयका अनुसार कक्षा ७ मा अध्ययनरत रहँदा नै नेपाल विद्यार्थी संघबाट राजनीति शुरू गरेका उनले २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्र मोर्चामा रहेर काम गरेका छन् ।
डा. महतले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेलेका थिए भने त्यसबेला उनी नेपाल विद्यार्थी संघको महासचिव बनिसकेका थिए ।
नेपाली कांग्रेसको नेतृत्वमा शुरू भएको २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । पार्टीले दिएका जिम्मेवारीहरु कुशलतापूर्वक पूरा गर्ने कार्यकर्ता र नेतृत्वलाई विश्वासमा लिनसक्ने खुवीका कारण पार्टीले उनलाई थप जिम्मेवारीहरु प्रदान गर्दै गयो । २०५५/५६ देखि नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाएका डा. महत २०५९ देखि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन् ।
संसदभित्रको जिम्मेवारी
२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा व्यवस्थापिकाको यात्रा गरेका डा. महतले पहिलो संविधानसभा २०६४ देखि २०६९ र दोस्रो संविधानसभा २०७० र २०७४ सम्म विधायकको रुपमा रहेर काम गरेका थिए । जननिर्वाचित जनताका प्रतिनिधिहरुबाट संविधान निर्माण गराएर नेपालको राजनीतिक इतिहासलाई नयाँ मोड दिने कार्यमा उनले योगदान गरेका छन् ।
व्यवस्थापिका संसदका राज्य व्यवस्था समिति र संसदीय विशेष सुनुवाई समितिमा उनले काम गरेका छन् ।
राजकीय जिम्मेवारी
नेपालमा माओवादी बिद्रोह उत्कर्षमा रहेको बेलामा सरकारले २०५६ सालमा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारी पाएका डा. महतलाई तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ देखि २०५९ सम्म सल्लाहकार नियुक्त गरेका थिए ।
उनलाई सरकारले २०५८ चैत्रदेखि २०५९ असोजसम्म राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त पनि गरेको थियो । २०६१ जेठदेखि २०६१ माघ १९ सम्म परराष्ट्र मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
२०६३ देखि २०६४ सम्म माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि २०६४ साउनदेखि २०६५ जेठसम्म विभिन्न विद्रोही समूहसंग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्यको जिम्मेवारी पनि पाएका थिए ।
२०६६ देखि २०६७ सम्म उनी ऊर्जा मन्त्री बनेका बेला अहिले राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने निर्णय गरेका थिए । नेपाल र भारतको बीचमा अन्तरदेशीय प्रशारण लाईन निर्माण गर्ने निर्णय पनि त्यतिबेलै भएको थियो ।
२०७३ देखि २०७४ सम्म डा. महतले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । जतिबेला नेपालको तराईमा भएको आन्दोलनले भारतले नेपालमा नाकाबन्दी गरेर नेपाल–भारत सम्बन्ध निकै तल्लो स्तरमा पुगेको अवस्था थियो । उनकै कार्यकालमा बिग्रिएको सम्बन्ध सुधारने प्रयास भएको उनको सचिवलायले बताएको छ ।
यही समयमा नेपालले गण्डक संझौता अन्तरगत पाउनुपर्ने सुविधा नपाएको बिषय उठाए र भारतलाई प्रतिबद्ध पनि बनाए। भारतसंगको दक्षिणी सीमामा हुने बाढी र डुबानको संयुक्त निरीक्षण गरी समाधान खोज्ने सहमति भयो । महाकाली सिंचाईको डीपीआर टुंग्याउने काम भयो । हरेक दुई वर्षमा संयुक्त संयन्त्रको बैठक बस्ने सहमति उनकै पालामा भएको थियो ।
यही कार्यकालमा चीन सरकारले प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआई)लाई नेपालको हित अनुकूल हुनेगरी कार्यान्वयनमा ल्याउने संझौतामा पनि हस्ताक्षर भएको थियो ।
डा. महतले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाटअर्थशास्त्रमा पीएच डी उपाधि हासिल गरेका छन् । उनले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र ( पोलिसि इकोनोमिक्स)मा पनि स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गरेका डा. महतले 'नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ' नामक पुस्तक प्रकाशित गरेका छन् ।
१९ कार्तिक २०१६ सालमा कविलास, पञ्चकन्या गाउँपालिका–२,नुवाकोटमा जन्मिएका महतका दुई सन्तान छन् ।
राजनीतिक र व्यवसायिक जीवनको पृष्ठभूमि
सरकारद्वारा गठित समिति
व्यवसायिक कार्यहरु