काठमाडौं । आर्थिक अभियान दैनिक तथा न्यू बिजनेश एजका प्रधान सम्पादक मदन लम्साल आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् ।
शुक्रवार रिपोर्टर्स क्लबमा प्रधानमन्त्री पुष्पकमल दाहालले नगद १ लाख रुपैयाँ र सम्मानपत्रसहित लम्साललाई सम्मानित गर्नु भएको थियो । उक्त पुरस्कार रिपोर्टर्स क्लबले दिएको थियो ।
लम्सालले उक्त पुरस्कारबाट प्राप्त नगद १ लाख रुपैयाँ सोही कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् । उक्त रकम प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको हातबाट आविष्कार केन्द्रका उपाध्यक्ष हरि सिलवाललाई हस्तान्तरण गरिएको थियो ।
नेपालको आर्थिक क्षेत्रको सम्मानित व्यक्तित्व स्वर्गिय तेजेन्द्र खड्का र सुन्तली खड्काको नामबाट स्थापित 'तेजेन्द्र–सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार' हरेक वर्ष आर्थिक पत्रकारितामा अमूल्य योगदान पुर्याउने १ जना वरिष्ठ पत्रकारलाई प्रदान गरिँदै आएको छ । २०७९ को पुरस्कार लम्सालले पाएका हुन् ।
नेपालको आर्थिक र व्यवसायिक पत्रकारिताको क्षेत्रमा विगत ३ दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहेका लम्सालले छापा र अनलाइन मिडियामार्फत आर्थिक जगतका महत्वपूर्ण विषयमा कलम चलाउँदै आएका छन् ।