ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरमा ‘नो पार्किङ’कार्यान्वयन प्रभावकारी बनाइने

२०७९ चैत, २१  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्र (नो पार्किङ)को कार्यान्वयन थप प्रभावकारी बनाइने भएको छ । महानगरपालिकाको सोमवारको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याइएको पार्किङ निषेधित क्षेत्रलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकले पार्किङलाई व्यवस्थित गर्दै संयुक्त बजार अनुगमन सूक्ष्म रूपमा अघि बढाउने, राजस्व अभिवृद्धि अभियानलाई निरन्तरता दिने लगायत निर्णय गरेको छ । महानगरपालिकालाई व्यवस्थित बनाउने दायित्व सबैको भएकाले उक्त अभियानमा स्थानीय प्रशासनले सघाउने मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

आइतवार बसेको महानगरको कार्यपालिका बैठकले समेत यसअघि महानगरले कार्यान्वयनमा ल्याएको ‘नो पार्किङ’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो । व्यापार सुस्ताएको भन्दै केही दिनयता व्यापारीहरूले आफ्ना सवारीसाधन सडकमा राखेर ‘नो पार्किङ’को अवज्ञा गर्दै आएका छन् । यद्यपि महानगर उक्त निर्णयबाट पछि नहट्ने मेयर नागेश कोइरालाले बताए । ‘हाम्रो उद्देश्य विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने हो,’ उनले भने । मेयर कोइरालाले वैकल्पिक पार्किङ समेत व्यवस्थित बनाउँदै लगिने बताए ।

सवारीसाधनको सुरक्षाका लागि वैकल्पिक पार्किङमा सीसीटीभी क्यामेरा र बत्ती तत्काल जडान गरिने उनले उल्लेख गरे । उपमेयर शिल्पा निराला कार्कीले महानगरलाई व्यवस्थित बनाउने यसअघिका निर्णय पूर्ण कार्यान्वयन गरिने बताइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पछिल्लो समय विराटनगर व्यवस्थित हुँदै गएको बताए । यसअघि ट्राफिक प्रहरी र नगर प्रहरीले गर्दै आएको ट्राफिक व्यवस्थापनमा अब नेपाल प्रहरीले समेत सघाउने मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतोले ट्राफिक प्रहरीलाई स्रोत साधनयुक्त बनाउनुपर्नेमा जोड दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)