ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तुलसी सहकारी हिनामिना प्रकरण : सञ्चालकको बयान शुरू, ९ जनाविरुद्ध ठगी मुद्दा

२०७९ चैत, २४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

विराटनगर । १ अर्ब रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोपमा पक्राउ परेका तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालकको बयान लिन थालिएको छ । जिल्ला अदालत मोरङमा संस्थाका दुई सञ्चालक, प्रबन्धक र लेखापरीक्षक गरी चारजनाको बयान बुधवारदेखि लिन थालिएको हो । पाँचजना भने अझै फरार छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले ९ जनाविरुद्ध ठगी मुद्दा चलाएको छ । जिल्ला न्यायाधिवक्ता रामहरि शर्माका अनुसार मोरङबाट मात्र १ हजार ३०७ जनाले सहकारीका सञ्चालकविरुद्ध जाहेरी दिएका छन् । जाहेरकर्ताले ६७ करोड ८६ लाख २१ हजार रुपैयाँ माग दाबी गरेका छन् । मोरङ सुनसरी, झापा, उदयपुर र सिरहामा शाखा कार्यालय सञ्चालन गरी सर्वसाधारणबाट उठाएको रकम निजी व्यवसायमा लगाएको आरोपमा सञ्चालकहरूविरुद्ध अदालतमा ठगी मुद्दा चलाइएको हो ।

पक्राउ परेका सहकारीका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने, प्रबन्धक मन्दिप खवास र लेखापरीक्षक शीतल चन्द प्रहरी हिरासतमा छन् । सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित पाँचजना फरार छन् । जिल्ला प्रहरी प्रमुख दीपक पोखरेलले अनुसन्धान सकेर ९ जनाविरुद्ध ठगी मुद्दा चलाइएको बताए । सर्वसाधारणको रकम असुल हुनेगरी आफूहरूले ठगी मुद्दा दर्ता गराएको जानकारी उनले दिए । प्रहरीका अनुसार सहकारीको ठगी अनुसन्धान गर्न केन्द्रीय र प्रादेशिक प्रहरीको अनुसन्धान समूहसँग सहयोग लिइएको छ । मोरङपछि अब झापा, उदयपुर र सिरहाबाट पीडितको जाहेरी लिइने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)