ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, श्रीलङ्कन र बटिक एयरको जहाज आकाशमै होल्ड

२०८० बैशाख, १७  
यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।

भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अन्तरराष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै हुन सकेका छैनन् भने अन्तरराष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन् ।

कोलम्बोबाट काठमाडौँ आएको श्रीलङ्कन एयरलाइन्सको जहाज आधा घण्टादेखि आकाशमा होल्डमा छ । यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयरको जहाज पनि अहिले सिमरामाथिको आकाशमा होल्ड भएको छ । आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाकै कारण शनिवार दिउँसोदेखि राति अबेरसम्म हवाई उडान प्रभावित भएको थियो ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

काठमाडौँको आकाशमा आज बिहानैदेखि आंशिक बदली रहेको छ । अहिले उपत्यकाका केही क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)