ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अमेरिकाका कारण टाट पल्टियो भारतको चौथो ठूलो वायु सेवा कम्पनी 'गो फर्स्ट', '१ खर्ब घाटामा'

२०८० बैशाख, २०  
अन्तरराष्ट्रिय यातायात
Jagdamba Supershine Image Not Found

काठमाडौं । भारतीय विमान सेवा प्रदायक कम्पनी गो फर्स्ट (Go First) टाट पल्टिएको छ । यात्रीको संख्याका आधारमा त्यहाँको चौथो ठूलो घरेलु विमान सेवा प्रदायक कम्पनीले आफू ऋण तिर्नै नसक्ने अवस्थामा पुगेको भन्दै इन्सल्भेन्सी कानूनको धारा १० अन्तर्गत अदालती संरक्षण माग्दै आवेदन दिएको हो । 

अमेरिकी इञ्जिन आपूर्तिकर्ताका कारण आफू टाट पल्टिएको भन्दै कम्पनीले अदालती संरक्षण मागेको हो । कम्पनीले एक्कासी आफ्ना सयौं उडानहरु पनि रद्द गरेको थियो । गो फर्स्ट सस्तो खालको हवाई सेवा प्रदान गर्ने (Budget Airlines) कम्पनी हो । यो सन् २०१९ यता धराशयी हुने भारतको पहिलो शीर्ष हवाई सेवा प्रदायक पनि हो ।

त्यति बेला जेट एयरवेज (Jet Airways) टाट पल्टिएको थियो । जेट एयरवेज एक दशकभित्र टाट पल्टिने तेस्रो भारतीय एयरलाइन्स थियो । कोरोना भाइरसको महामारीको प्रभावबाट भारतको हवाई उड्ययन क्षेत्र उब्रिरहेको अनि यात्रीहरुको संख्या पनि कीर्तिमानी स्तरमा उक्लिरहेकै समयमा कम्पनी टाट पल्टिएको हो । 

करीब २ दशकदेखि व्यवसाय चलाइरहेको गो फर्स्ट घाटामा चलिरहेको थियो । कम्पनीले मंगलवार एक्कासी मे ३ देखि मे ५ को बीचमा सबै उडानहरु रद्द गरेको घोषणा गर्दै भारतको दिल्ली स्थित राष्ट्रिय कम्पनी ल ट्रिब्यूनल (एनसीएलटी)मा स्वेच्छिक रुपमा दामासाहीमा जान चाहेको भन्दै आवेदन दिएको थियो ।

कम्पनीको ६० प्रतिशतभन्दा धेरै उडान ग्राउन्डेड भइसकेको थियो । अमेरिकी कम्पनी प्र्याट एन्ड ह्वाइट्नीसँग कम्पनीले किनेको इञ्जिनहरुमा सधैं समस्या आइरहेको कम्पनीले भनेको छ । इञ्जिनमा समस्याका कारण गो फर्स्ट ले ५७ थान एयरबस ए३२० नियो मध्ये आधा ग्राउन्डेड गर्न बाध्य बनेको बताइएको छ ।

समाचारहरुका अनुसार मार्च ३० सम्ममा कम्पनीको ३० थान विमान ग्राउन्डेड थिए । यसका कारण कम्पनीको १ खर्ब ८ अर्ब भारतीय रुपया (१ अर्ब ३० करोड डलर) बराबर आम्दानी गुमेको अनि खर्च बढेको बताइएको छ । कम्पनीले प्र्याट एन्ड ह्वाइट्नीमाथि सिंगापुरमा आकस्मिक आर्बिट्रेटरले दिएको आदेश पालना गर्न पनि असफल भएको आरोप लगाएको छ ।

सो आर्बिट्रेशनमा प्र्याट एन्ड ह्वाइट्नीलाई सन् २०२३ को अप्रिल २७ सम्ममा गो फर्स्टलाई कम्तिमा पनि १० ओटा सर्भिसेबल स्पेयर इञ्जिन भाडामा दिन निर्देशन दिएको थियो । सोही कारण कम्पनी घाटामा गएको आरोप गो फर्स्टको थियो । भारतमा हवाई सेवा व्यापारमा प्रचुर सम्भावना छ । तर पनि त्यहाँ बारम्बार कम्पनीहरु असफल भइरहेका छन् ।

भारतले यो वर्ष चीनलाई उछिनेर विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश बन्ने अनुमान संयुक्त राष्ट्र संघले गरेको छ । मध्यम वर्गिय जनसंख्या बढेसँगै हवाई यात्राको माग पनि बढेका छन् । भारतको घरेलु हवाई क्षेत्रको आधाभन्दा धेरै हिस्सा इन्डिगोको पोल्टामा छ ।

घरेलु बजारको ७ दशमलव ८ प्रतिशत हिस्सा भएको यो कम्पनी यात्रीको संख्याका आधारमा भारतको चौथो ठूलो हवाई सेवा प्रदायक हो । यस वर्षको पहिलो त्रैमासमा २९ लाख १० हजार यात्रीहरुले गो फर्स्टबाट यात्रा गरेका थिए । तर पनि कम्पनीले आफूलाई जोगाएर राख्न सकेन । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)