ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

वायुसेवा निगमले तिर्न थाल्यो जहाज किन्न लिएको ऋणको साँवाब्याज, १ वर्षमा करीब ३ अर्ब भुक्तानी

२०८० बैशाख, २२  
समाचार यातायात
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । दुई ठूला सरकारी कोषले जहाज किन्न सरकारी संस्थान नेपाल वायुसेवा निगम (Nepal Airlines) लाई दिएको ऋण (Loan) को किस्ता उठाउन लामो समयसम्म गाह्रो परे पनि पछिल्लो समय निगमले नियमित जसो तिर्न थालेको छ ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई सरकार जमानी बसेपछि ठूलो मात्रामा ऋण दिएका थिए । नेपाल एयरलाइन्सले १ वर्षको अवधिमा करीब ३ अर्ब रुपैयाँ साँवाब्याज भुक्तानी गरेको छ ।

निगम प्रवक्ता रमेश पौडेलका अनुसार निगमले २०७९ असारयता २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ साँवाब्याज भुक्तानी गरेको छ । असारमा १ अर्ब ३५ करोड, असोजमा ७३ करोड ९ लाख, पुसमा ३३ करोड ९ लाख र चैतमा ५३ करोड ९ लाख रुपैयाँभन्दा बढी गरी २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ भुक्तानी गरेको निगमले जानकारी दिएको छ । 

निगम अहिले सञ्चालन मुनाफामा छ । सोही कारण निगमले नियमित साँवाब्याज तिर्न थालेको प्रवक्ता पौडेलले बताए । उनका अनुसार कोरोना महामारीको कारण व्यापारमा प्रतिकूल असर परेको भन्दै निगमले उक्त अवधिको ब्याज, हर्जाना र पेनाल छूट एवं किस्ताको संख्या बढाइ ऋण भुक्तानीलाई सहजीकरण गरिदिन दुवै ऋणदातालाई अनुरोध गरेको छ । अहिलेसम्म त्यसको जवाफ आएको छैन ।

सञ्चय कोषका अधिकारीहरू पनि निगमले किस्ता नियमित जसो तिर्न थालेको बताउँछन् । सञ्चय कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले पछिल्लो समय निगमले ४३ करोडको किस्ता तिरेको बताए । उनका अनुसार पछिल्ला ५र६ किस्ता निगमले नियमित जसो तिरिरहेको छ । सञ्चय कोषले निगमलाई अन्तरराष्ट्रिय उडानका लागि ठूला जहाज किन्न २२ अर्ब रुपैयाँ ऋण दिएको थियो । 

सञ्चय कोषले २०७० असारमा निगमलाई १ सय ५८ सीट क्षमताको ‘ए ३२०–२००’ सिरिजका दुईथान न्यारो बडी जहाज किन्न १० अर्ब रुपैयाँ ऋण दिएको थियो । कोषले पछि निगमलाई २ सय ७४ सीटको दुई थान ‘ए ३३०–२००’ सिरिजका वाइड बडी जहाज किन्न २०७४ जेठमा १२ अर्ब रुपैयाँ ऋण दिएको छ । वाइड बडीका लागि आवश्यक बाँकी १२ अर्ब रुपैयाँ नागरिक लगानी कोषले ऋण दिएको हो । निगमले २०७० यता सञ्चय कोषबाट २२ अर्ब रुपैयाँ ऋण लिएको छ । उक्त ऋणको साँवाब्याजबापत केही किस्ता चुक्ता गरेको निगमले सञ्चय कोषलाई साँवा र ब्याज गरी अझै २५ अर्ब रुपैयाँ चुक्ता गर्नुपर्छ । 

सञ्चय कोष र निगमबीच भएको ऋण सम्झौताअनुसार न्यारो बडी जहाज किन्न लिएको ऋणको वार्षिक ब्याजदर १२ प्रतिशत छ । १५ वर्षमा साँवा र ब्याज पूरै चुक्ता गरिसक्नुपर्छ । वाइड बडी किन्न लिएको १२ अर्ब रुपैयाँ ऋणको ब्याज ९ प्रतिशत तोकिएको छ । व्यावसायिक उडान शुरू गरेपछि ब्याजदर १० प्रतिशत हुने दुई संस्थाबीचको सम्झौतापत्रमा उल्लेख छ । २०७८ पुसमा निगमले सञ्चय कोषलाई साँवा र ब्याज गरी तिर्नुपर्ने रकम बढेर २६ अर्ब ५० करोड रुपैयाँ पुगेको थियो । पछिल्लो समय किस्ता तिरेका कारण यो घटेर २५ अर्बमा झरेको छ । न्यारो बडी, वाइड बडीसहित अर्को एक शीर्षकमा कर्मचारी सञ्चय कोषले निगमलाई ऋण दिएको थियो । 

निगमले नागरिक लगानी कोषसँग लिएको ऋणको किस्ता पनि तिरिरहेको छ । कोषका कार्यकारी निर्देशक रमण नेपालका अनुसार सरकारले नै ग्यारेन्टी गरेकाले कोषले नेपाल एयरलाइन्सको वाइड बडी जहाज किन्न लगानी गरेको हो । केही किस्ता तिरे पनि धेरै तिर्न बाँकी छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)