काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल (Apple Inc)ले गएको त्रैमासमा अपेक्षा गरिएभन्दा राम्रो कमाई गरेको छ । समीक्षा अवधिमा कम्पनीले अपेक्षा गरेभन्दा धेरै आइफोन बेचेपछि त्रैमासिक मुनाफा पनि अपेक्षाकृत उच्च रहेको हो ।
समीक्षा अवधिमा आफूहरूले अपेक्षा गरेको भन्दा राम्रो भएको कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) टिम कूकले बताएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा कम्पनीले कूल ९४ अर्ब ८४ करोड डलरको विक्री गरेको छ । विक्रीको यो आकार अघिल्लो आवको सोही त्रैमासको तुलनामा ३ प्रतिशत कम हो ।
तर, यो अर्थशास्त्रीहरूले अपेक्षा गरेको भन्दा निकै धेरै हो । सो अवधिमा एप्पलले ९२ अर्ब ९६ करोड डलर बराबरको विक्री गर्ने अपेक्षा गरिएको थियो । योसँगै लगातार दोस्रो त्रैमास पनि कम्पनीको विक्री घटेको छ । सो अवधिमा कम्पनीले आइफोन (Iphone) मात्रै ५१ अर्ब ३३ करोड डलर बराबरको बेचेको छ ।
त्यतिबेला कम्पनीले ४८ अर्ब ८४ करोड डलरको मात्रै आइफोन बेच्ने अपेक्षा गरिएको थियो । समीक्षा अवधिमा म्याक, आइप्याडलगायतको विक्री भने दोहोरो अंकले घटेको छ । तर, सर्भिस विजनेशको विक्री भने वार्षिक साढे ५ प्रतिशतले बढेको छ । एजेन्सी