काठमाडौं । कोरोना भाइरसको महामारी विश्वभरको स्वास्थ्य आपतकालको रुपमा रहेन । विश्व स्वास्थ्य सङ्गठन (WHO)का अनुसार Covid-19 अब विश्वव्यापी स्वास्थ्य आपतकाल (Covid-19 emergency)को रूपमा रहेको छैन । संगठनले शुक्रबार अबेर एउटा विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । संगठनको यो घोषणालाई महामारी अन्त्य भएको आशा जगाएको छ ।
कोभिड शुरु भएको तीन वर्षपछि डब्ल्यूएचओले यस भाइरसलाई लिएर जारी गरेको सबैभन्दा उच्च तहको सतर्कता हटाएको छ । उसका अनुसार कोभिड अब अन्तरराष्ट्रिय चासोको जनस्वास्थ्य स्वास्थ्य आपतकाल भएन । सन् २०२० को जनवरीमा संगठनले कोभिडलाई अन्तरराष्ट्रिय चासोको जनस्वास्थ्य स्वास्थ्य आपतकालको स्थितिमा राखेको थियो ।
आफूले निकै ठूलो आशाका साथमा यो घोषणा गरेको डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अदनोम घेब्रेयसुसले भनेका छन् । यो देशहरुको लागि संक्रमणकालिन अवस्था भएको उनले बताएका छन् । कोभिडका कारण सन् २०२१ को जनवरीमा विश्वभर हप्ता दिनमा एक लाख भन्दा धेरैको ज्यान गएको थियो ।
यो कोभिडका कारण हप्ताभरमा मर्नेको कीर्तिमानी स्तर थियो । गएको महीना यो संख्या तीन हजारमा ओर्लिएको छ । कोरोना भाइरसका कारण विश्वभर झन्डै ७६ करोड ५० हजार संक्रमित भएको संगठनले संक्लन गरेर राखेको तथ्यांकले देखाएको छ । यसबाट ७० लाख मानिसहरूको मृत्यु भएको छ । सीमित परीक्षणका कारण वास्तविक मृतकको संख्या तीन गुणा बढी हुन सक्ने अनि उल्लेख्य संख्यामा संक्रमितहरु गणनामा नआएको हुन सक्ने टेड्रोस भनाई छ ।
कोभिडका कारण विश्वभर कम्तिमा पनि २ करोडको मृत्यु भएको हुन सक्ने टेड्रोस बताउँछन् । संगठनले polio र mpox (पहिले यो मंकीपक्सको नामले चिनिन्थ्यो) लाई पनि अन्तरराष्ट्रिय चासोको जनस्वास्थ्य स्वास्थ्य आपतकालको रुपमा राखेको छ । यी दुबै अहिले पनि यही हैसियतमा छन् । इबोलालाई पनि यही हैसियत दिइएको थियो । तर सन् २०२० मा सो हैसियत हटाइयो । एजेन्सी