प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रलाई फाइदा हुने हिसाबले कुनै पनि हालतमा जहाज भित्र्याउने बताएका छन् ।
राष्ट्रिय पर्यटन परिषद्को बैठकमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । ‘राष्ट्रलाई जहाज चाहिएको छ भन्ने सबैलाई थाहा छ । प्रक्रिया मिलाउने भन्दै किन ढिला गर्ने ? बरु टुँडिखेलमा बसेर निर्णय गरौं, छिटो जहाज ल्याउनुपर्यो,’ नेपाललाई उद्धृत गर्दै प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलले बताए ।
जहाज खरीद गर्न नदिन माफियाहरूले ठूलो खेल गरिरहेकाले त्यसलाई चिर्नुपर्ने विषयमा बैठकमा गहन छलफल भएको स्रोतले बतायो । जसरी हुन्छ जहाज खरीदको पहल थाल्न प्रधानमन्त्रीले निर्देशन दिएको स्रोतले बतायो । ‘पारदर्शी निर्णय गर्दा नडराउन प्रधानमन्त्रीले निर्देशन दिनुभयो,’ पौडेलले भने । विभिन्न राजनीतिक दल तथा लेखा समितिका सदस्यले पनि पारदर्शी प्रक्रिया अपनाएर जहाज खरीद गर्न सुझाव दिएको प्रधानमन्त्रीले बैठकमा उल्लेख गरेका थिए ।
बैठकमा पर्यटन वर्ष २०११ लाई सफल बनाउन के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको परिषद्का सदस्य खगराज आचार्यले जानकारी दिए । ‘पूर्वाधार निर्माण, जहाज खरीद, क्षेत्रीय विमानस्थलहरूको सुधारलगायतको विषयमा छलफल भयो,’ आचार्यले भने । पर्यटन वर्षमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल तथा अन्य क्षेत्रीय विमानस्थललाई अधिकतम उपयोग गर्ने निर्णय भएको जानकारी उनले दिए ।
-वर्ष ६, अंक ४०, सोमवार, ८ कात्तिक, २०६७