ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रेमिट्यान्स, निक्षेप र विदेशी मुद्रा सञ्चिति बढ्दा पनि शेयर बजार घट्यो, के चाहन्छन् लगानीकर्ता ?

२०८० बैशाख, २७  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत महीनासम्मको देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप, रेमिट्यान्स, विदेशी मुद्रा सञ्चितिलगायत सूचकमा उल्लेख्य सुधार भएको तथ्याङ्क सार्वजनिक गरेको छ । तर, साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ ।

नेप्से परिसूचक शून्य दशमलव १३ प्रतिशत अर्थात् २ दशमलव ४३ अंक घटेर १ हजार ८४१ दशमलव ९३ विन्दुमा कायम भएको हो । मंगलवार रू. ७७ करोड बराबर कारोबार भएकोमा बुधवार रू. ५८ करोडमा झरेको छ । लगानीकर्ताहरूले सस्तो मूल्यमा बेच्न चाहेका छैनन् भने खरीदकर्ता पनि बजारमा आकर्षित नहुँदा कारोबार रकम घटेको हो । 

नेपाल राष्ट्र बैंकले मासिक रूपमा ऋणको ब्याजदर परिवर्तन गर्न बैंकहरूलाई निर्देशन दिएपछि मंगलवारको बजार दोहोर अंकले बढेको थियो । बजारको वृद्धि एक दिन पनि नटिक्दा लगानीकर्ता विश्वस्त नभएको देखिन्छ ।

यसो त पछिल्लो समय बजारमा आर्थिक संकट शुरू भएका समाचारहरू बाहिरिएका छन् । वैशाखदेखि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाए तर कर्जाको ब्याजदर यथावत् हुनाले पनि शेयर बजार प्रभावित भएको लगानीकर्ताको भनाइ छ । नियामकले नीतिगत रुपमै शेयर बजारलाई सम्बोधन नगरेसम्म लगानीकर्ताको मनोबल नबढ्ने जानकारहरू बताउँछन् ।

यस दिन २६५ धितोपत्रको १९ लाख ४२ हजार ६२६ कित्ता शेयर, १६ हजार १०० पटकमा रू. ५८ करोड ९१ लाख बराबर कारोबार भएको छ ।

बुधवार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ८ दशमलव २४ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य रू. १६३ दशमलव ६० पुगेको हो । ७५ प्रतिशत हकप्रद शेयरको समायोजनपछि कम्पनीको शेयर मूल्य तल्लो विन्दुमा आएकाले खरीदकर्ता आकर्षित भएको देखिन्छ । त्यस्तै दोस्रोमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य ५ दशमलव ८७ प्रतिशत बढेर रू. ४७१ पुगेको छ । 

बुधवार ‘९.५% एनसीसी डिबेन्चर २०८६’ नामक ऋणपत्रका शेयरधनीले सर्वाधिक गुमाएका छन् । ऋणपत्रको मूल्य ७ दशमलव २४ प्रतिशत घटेको छ । ऋणपत्रको मूल्य प्रतिकित्ता रू. ८९० मा झरेको छ । त्यस्तै मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ४७ प्रतिशत घटेर रू. ३२१ दशमलव ३० कायम भएको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको स्थान हिमाल दोलखा हाइड्रोपावरले आगटेको छ । कम्पनीको रू. ३ करोड ५६ लाख बराबर शेयर कारोबार भएको हो । त्यस्तै सर्वाधिक कारोबार हुने दोस्रोमा नबिल बैंकको रू. ३ करोड ५४ लाख बराबर छ । 

बुधवार बजारमा पाँच समूहको परिसूचक बढेको छ भने आठ समूहको परिसूचक घटेको हो । उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ६० प्रतिशत बढेको छ भने ‘अन्य’ समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ७९ प्रतिशत घटेको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १३ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १० प्रतिशत घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)