काठमाडौं । पछिल्लो केही दिनदेखि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । सोही कारण बजार न त बढ्न सकेको छ न धरै घटेको नै छ । दैनिकजसो कारोबार रकम भने ओरालो लागेको छ ।
नेपाल राष्ट्र बैंकले बैंकहरूलाई अब मासिक रूपमा ऋणको ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ । निर्देशनपछि एक दिन बढेको बजारले पुनः पुरानै गति लिँदा लगानीकर्ताले बजारप्रति विश्वास नगरेको देखिन्छ । पछिल्लो समय लगानीका घरजग्गा व्यवसाय, व्यापार व्यवसायलगायत क्षेत्र पनि निकै सुस्त हुन थालेका छन् ।
चर्को ब्याजदरका कारण समग्र आर्थिक क्रियाकलाप नै मन्दीतिर गएको टिप्पणीसमेत हुन थालेकोले शेयर बजार पनि प्रभावित भएको जानकारहरू बताउँछन् । नियामकले नीतिगत रूपमै शेयर बजारलाई सम्बोधन नगरेसम्म लगानीकर्ताको मनोबल नबढ्ने लगानीकर्ताको भनाइ छ ।
साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक समान्य अंक अर्थात् शून्य दशमलव १८ प्रतिशत घटेको छ । नेप्से परिसूचक १ हजार ८३८ दशमलव ५९ विन्दुमा कायम भएको छ । यस दिन २५९ धितोपत्रको २१ लाख ५ हजार ६५७ कित्ता १६ हजार २०४ पटकमा रू. ५७ करोड ८८ लाख बराबरको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६ दशमलव १० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य रू. ६६१ पुगेको हो । त्यस्तै दोस्रोमा सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ५ दशमलव ८९ प्रतिशत बढेर रू. ७ दशमलव ७३ पुगेको छ ।
बिहीवार फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको शेयर मूल्य ५ दशमलव ९९ प्रतिशत घटेर प्रतिकित्ता रू. १ हजार ११५ मा झरेको छ । बिहीवार कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा ९३ प्रतिशत घटेसँगै विक्रेता हाबी भएका हुन् । त्यस्तै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य ५ दशमलव ५२ प्रतिशत घटेर रू. ४४५ मा झरेको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल दूरसञ्चार कम्पनीले ओगटेको छ । रू. ३ करोड १५ लाख बराबर कारोबार भएको कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ग्लोबल आइएमई बैंकको संस्थापक शेयरको रू. २ करोड ७० लाख बराबर कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक स्थिर रहेको छ । बाँकी समूहको परिसूचक घटेको हो । म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ४३ प्रतिशत बढेको छ भने वित्त समूहको सूचक शून्य दशमलव ६७ प्रतिशत घटेको हो । बिहीवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २०, फ्लोट इन्डेक्स शून्य दशमलव १७ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २२ प्रतिशत घटेको छ ।